मण्डलाबाट मूलवासीकाे बालेनविरुद्ध खबरदारी

१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएपछि निकालेको विजय जुलुसमा उनीसँग पराजित भएका स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका थिए । उनले आफूले नजिते पनि आफ्नो जस्तै उद्देश्य र मुद्दा भएको मान्छेले जित्दा खुशी लागेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।

तर निर्वाचनको १० महिनापछि नै सायमी बालेनविरुद्ध सडक संघर्षमै उत्रिए । यहाँसम्म आइपुग्दा बालेन र उनको उद्देश्यमा आकाश–जमिनको फरक देखिएको छ । बालेनले निजी सम्पत्तिमा डोजर चलाएको, संविधान र कानुनले दिएको अधिकारसमेत हनन गरेको भन्दै सायमीले आइतबार माइतीघरमण्डलामा भने ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरंकुश भएर आएका छन् ।’

उनले अगाडि भने, ‘पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउँथ्यौं, अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहँदैनौं ।’

आइतबार माइतीघरस्थित अष्ठमण्डलमा भाषण गर्दै योगेश मिश्रले भने, ‘मेयर बालेन्द्र साहले ल्याएको मतभन्दा धेरै हामी काठमाडौंवासीले हस्ताक्षर गरेर अदालत जान नपरोस्, उनी नसच्चिए त्यो कदम चालिन्छ ।’

मिश्रले काठमाडौं बनाउन नभई भत्काउन साहले नेतृत्व लिएको आरोप लगाउँदै प्रश्न गरे, ‘आफूलाई इन्जिनियर भन्नेले टुकुचाबारे अध्ययन गर्न डोजर नै चलाउनुपर्थ्यो र ? उनको ‘स्टन्ट’ले महानगरलाई लाभ भइरहेको छ कि हानि ?’

माइतीघरमा भएको विरोध कार्यक्रमले काठमाडौंका विभिन्न क्षेत्रका बासिन्दा (मतदाता) मेयर बालेन्द्र साह (बालेन)सँग निकै असन्तुष्ट बनेको प्रष्ट संकेत दिएको छ । टुकुचादेखि खुलामञ्च प्रकरणसम्म आइपुग्दा मेयर बालेनको कार्यशैली विरुद्ध आवाज बढ्दै गएको देखिएको छ ।

आइतबारको कार्यक्रमका वक्ताहरूले निजी सम्पत्तिमा डोजर चलाएको, विना विकल्प पार्किङ हटाएको, टुकुचामा आलोकाँचो काम गरेको, सम्पदा विनाशतर्फ लागेको भनेर आक्रोश पोख्दै मेयर साहलाई सच्चिन आग्रह गरे ।

विरोध सभामा सहभागी रवीन्द्र श्रेष्ठले मेयर साह अविवेकी ढंगले प्रस्तुत भएको बताए । ‘उनले काठमाडौंका सडक, टोल र गल्लीहरूमा आतंक सिर्जना गरेका छन्, हाम्रा सम्पदामाथि धावा बोलेका छन्’ आक्रोशित बन्दै श्रेष्ठले भने, ‘यस्ता अविवेकी मेयरलाई हटाउन नपरोस् ।’

त्यस्तै, आदिवासी जनजाति महासंघका पूर्वसचिव गोविन्द छन्त्यालले काठमाडौंको नेवाः समुदायप्रति बालेनले ज्यादती गरेको भन्दै बेलैमा सच्चिन आग्रह गरे ।

विरोध सभामा व्यवसायीहरू पनि सहभागी भएका थिए । कुलेश्वरका अटो व्यवसायी शक्ति दुवाडीले महानगरपालिकाका मेयरकै कारण काठमाडौंमा आत्महत्या गर्नुपर्ने स्थिति नआओस् भने ।

‘मेरोमा कारोबार नभएको पाँच महिना भयो, बैंकको ब्याज, सटर भाडा तिर्दा बाँकी सम्पत्ति पनि सकिन लागिसक्यो’ दुवाडीले भने, ‘विना विकल्प व्यवसायीको ढाड सेक्न नो पार्किङ भनेको छ, होर्डिङ बोर्ड राख्न दिएको छैन । बालेन विजयी हुँदा हामी पनि खुसी भएका थियौैं, उनले यस्तो दिन ल्याउलान् भन्ने लागेको थिएन ।’

विरोधमा बढ्दै आवाज

मेयरमा निर्वाचित भएपछि बालेनले गरेको कामको टिपोट गर्ने हो भने अलोकप्रिय कामको सूची बन्छ । महानगरले गत ६ भदौबाट नयाँबानेश्वर क्षेत्रका व्यापारिक भवनको बेसमेन्टमा डोजर चलाउन थालेको थियो । त्यसयता सुन्धारा, न्युरोड, कोटेश्वरसहित शहरका मुख्य क्षेत्रका व्यावसायिक भवनका पार्किङ खाली गर्न डोजरहरू चले ।

त्यसक्रममा सडक छेउछाउका अस्थायी संरचना मात्र नभई सार्वजनिक जमिनमा वर्षौंअघि बनेका सार्वजनिक भवनहरूमा पनि भत्काउन थालियो । १४ असोजमा थायमदु (बांगेमुढा) को ४५ वर्ष पुरानो त्वाः छें (सामुदायिक घर)मा डोजर चलाएपछि स्थानीयवासीले उच्च अदालतमा रिट निवेदन दिए । अदालतले नभत्काउन अन्तरिम आदेश दिंदा पनि महानगरले बल प्रयोग गरेर भत्काएरै छाड्यो ।

२८ पुसमा महानगरले काठमाडौं–३१, शंखमूलमा साहेलसिंह महर्जनको जमिनमा सडक विस्तार गर्ने भन्दै डोजर चलायो । महर्जनले महानगरको लिखितपत्र वा निर्णय माग गर्दा डोजर लिएर आएका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले ‘उडाइदिने’ धम्की दिएपछि मेयर साहको चर्को आलोचना भयो ।

यिनै कारणहरूले आज माइतीघरमा भेला भएर मेयर विरुद्ध आवाज उठाउनु परेको बताउँछन्, साहेल सिंह महर्जन ।

हुनपनि, महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला पनि खोतल्न थालेको थियो । जयनेपाल हलबाट टुकुचा खोतल्न थालेको महानगरपालिकाले चारभन्दा बढी ठाउँमा डोजरले खोतलेर खोला निकाल्यो ।

त्यसक्रममा घरहरू पनि भत्काउने तयारी थालेपछि २१ जना घरधनीले उच्च अदालत गुहारे । अदालतबाट माग अनुसारै आदेश आएपछि महानगरपालिकाको डोजर रोकिएको छ ।

पुरातत्व विभागले पनि पुरातात्विक सम्पदा भएकोले टुकुचाको भूमिगत संरचना नभत्काउन निर्देशन दिएको छ । महानगरले टुकुचा खोतलेका ठाउँहरू असरल्ल छाडेको छ ।

आइतबार माइतीघरमा भएको विरोध सभाका वक्ताहरूले महानगरको उक्त कदमको चर्को आलोचना गरे ।

तर, बोल्दैनन् मेयर

माइतीघरमण्डलमा योगेश मिश्रले चुनाव अगाडि सामाजिक सञ्जाल प्रयोग गरेर युवा मतदातालाई प्रभावमा पारेका बालेन अहिले हराएको बताए । ‘हामी काठमाडौंवासीलाई कालो चश्मा लगाएर प्रश्नहरूसँग भाग्दै हिंड्ने हैन, जनताका समस्याबारे खुला छलफल गर्ने मेयर चाहिएको हो’ उनले भने, ‘नबोल्ने, जनताको प्रश्नलाई बेवास्ता गर्ने यी कस्तो खालका मेयर हुन् ?’

मेयर बालेन जवाफदेही नभएको आरोप नौलो होइन । महानगरका विविध समस्याबारे आवाज उठाउने व्यक्ति, संस्थालाई उनी बेवास्ता गर्छन् । फुटपाथमा ठेला/साइकलमा व्यवसाय गरिरहेका व्यवसायीलाई हटाउन थालेपछि ७ भदौमा ज्ञापनपत्र बुझाउन महानगरपालिका पुगेका साना व्यापारीहरूलाई भेट्न मेयरले अस्वीकार गरे ।

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लिएर गएका महानगर प्रहरीलाई प्रतिरोध गरेर फर्काएको भोलिपल्ट १३ मंसिरमा महानगरपालिका आएका सुकुम्बासीका प्रतिनिधिहरू भेट्न मेयर बालेनले अस्वीकार गरे ।

खुलामञ्चमुनि भूमिगत पार्किङ नबनाउन माग गर्दै १८ पुसमा महानगरपालिका पुगेका स्थानीयवासी र अभियन्ताहरूलाई ‘माघ पहिलो सातासम्म मेयर सा’पले कसैलाई भेट्न नसक्ने’ भन्दै उनको सचिवालयले फर्कायो ।

महानगरले दरबारमार्गमा १९ पुसयता नो पार्किङ गरेको छ । यो विषयमा दरबारमार्ग विकास बोर्ड र स्थानीय व्यापारीहरूका प्रतिनिधिले मेयर बालेनसँग भेट्न पटक–पटक गरेको प्रयास पनि निष्फल नै भएको छ ।

यी कारणहरूले गर्दा उनी विरुद्धको भावना झन् बढ्दै गएको छ । दरबारमार्गका व्यवसायीहरू पनि महानगरविरुद्ध आन्दोलनको तयारीमा छन् । आन्दोलनको स्वरुप कस्तो हुने भनेर छलफल भइरहेको एक व्यवसायीले बताए ।



from समाचार – Online Khabar https://ift.tt/l6mzSGB

Post a Comment

0 Comments