गठबन्धनभित्र भागबन्डा नमिल्दा एमालेको टिकट वितरणमा ढिलाइ

१७ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिटको भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ ।

गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन ।

भागबन्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् ।

५६ प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएको र बाँकी ठाउँको निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएकाले पनि एमालेमा टिकट वितरणमा ढिलाइ हुनुपर्ने कारण देखिदैन ।

उपाध्यक्ष सुवास नेम्वाङ पनि उम्मेदवारहरू लगभग तय भइसकेको बताउँछन् । ‘धेरै ठाउँको उम्मेदवार टुंगिसकेको छ । हाम्रोमा केही समस्या छैन’, उपाध्यक्ष नेम्वाङ भन्छन् । तर गठबन्धनमा भागबन्डाको कुरा नमिल्दा एमालेले पनि दशैं अगाडि टिकटबारे कुनै निर्णय नगर्ने भएको छ ।

अध्यक्ष ओली आज (सोमबार) बिहान ११ बजे गृह जिल्ला झापा जाँदैछन् । टीका लगाएर मात्रै ओली काठमाडौं र्फकने भएकाले दशैं अगाडि एमालेको टिकट वितरणको सम्भावना टरेको हो ।

दशैं टीका सकेर निर्णय गर्दा पनि एमालेमा फरक नपर्ने नेताहरु बताउँछन् । ‘कसले चुनाव लड्छ भन्ने कुरा धेरै ठाउँमा लगभग फाइनल जस्तै छ, एक दुई दिन ढिलो हुँदैमा फरक पर्दैन’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतसँग तालमेल नटुंगिदा पनि एमालेको टिकट वितरणमा ढिलाइ भइरहेको छ ।

यी दुवै दलसँग एमाले नेताहरू वार्तामा छन् । तर यी दलहरुसँगको तालमेल भन्दा पनि सत्तारुढ गठबन्धनमै देखिन सक्ने असन्तुष्ट नेताहरुको लाभ उठाउन सकिने बुझाइकै कारण एमालेले ढिलाइ गरिरहेको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, गठबन्धनको निर्णयबारे स्वतः चासो हुने बताउँछन् । ‘एमालेको टिकटको समस्या छैन । सत्तारुढ गठबन्धनमा भ्यागुताको धार्नी पुर्याउनुपर्ने भएकाले उहाँहरु संकटमा हुनुहुन्छ’, रिजाल भन्छन्, ‘स्वभाविक रुपमा दुई पक्षीय प्रतिश्पर्धा हुने भएकाले सत्तारुढ गठबन्धनले के गर्छ भन्ने कुरा प्रमुख प्रतिपक्षलाई स्वतः चासो हुन्छ ।’

गठबन्धनभित्रको असन्तुष्ट दल र नेता तान्न नसकिएपनि उम्मेदवार हेरेर आवश्यक निर्णय लिनु उपयुक्त हुने बुझाइमा एमाले नेताहरु छन् ।

स्थानीय चुनाव लगत्तैबाट सिट भागबन्डाको गृहकार्य थालेको सत्तारुढ गठबन्धनमा भने अझै सहमति जुट्न सकेको छैन ।

प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिटमा भागबन्डा नमिल्दा गठबन्धनका सबै दलभित्र असन्तुष्टि देखिएको छ । त्यो असन्तुष्टि हल गर्दै साझा उम्मेदवार तय गर्न भएको ढिलाइको असर एमालेमा पनि देखिन पुगेको हो ।

 



from समाचार – Online Khabar https://ift.tt/7Gp0MdP

Post a Comment

0 Comments