किशोरीका कुरा : ‘पुरुषको यस्तो बानी-व्यवहार पटक्कै मन पर्दैन’

काठमाडौं । चोक-गल्लीमा हिंडिरहेकी एउटी अपरिचित युवती देख्नासाथ पुरुषहरु जिब्रो पड्काउँछन् । युवतीको हिंडाइ, लुगाफाटो वा जीउडालमाथि ठट्टा गर्छन् । सार्वजनिक यातायातमा उभिएकी एक छात्रामाथि आसपासका पुरुषहरु घुरेर हेर्छन् । नजानिंदो पाराले छुन खोज्छन्, चलाउन खोज्छन् ।

गाडी वा कसैलाई पर्खेर बाटो छेउमा उभिरहेकी किशोरी देखेर पुरुष बटुवाहरु मुखामुख गर्दै हिंड्छन् । किशोरीमाथि अनेक धारणा बनाउन थाल्छन् ।

उस्तै छैन स्थिति केटा र केटीका लागि । जहाँ एउटा केटा खुलेआम यात्रा गर्न सक्छन् त्यहीं केटीले निकै कष्टसाथ आफूलाई जोगाएर हिंड्नुपर्ने हुन्छ । चाहे चोकको भीडमा होस् वा रेस्टुरेन्टमा, चाहे सार्वजनिक यातायातमा होस् वा सडकमा, केटा जसरी उनीहरु निर्धक्क हिंड्नै सक्दैनन् । आखिर उनीहरुले के-कस्ता अप्ठ्यारा झेल्नुपर्छ ? कस्ता व्यक्तिबाट सतर्क हुनुपर्छ ? कुन-कुन ठाउँहरुमा जोगिनुपर्ने हुन्छ ?

आशिका अर्याल, शर्मिला दाहाल, काजल बस्नेत र झरना खनालले आफ्ना भोगाइ अनि बुझाइ सुनाएका छन् । किशोरवयका उनीहरुको साझा निचोड के छ भने केटीहरुले जहाँ पनि असुरक्षा र असहज महसुस गरिरहेका हुन्छन् । उनीहरु निर्धक्क र निस्फिक्री छैनन् । भाषा र भाषण फेरिए पनि परिस्थिति र मनस्थिति उस्तै छ, समानताको कुरामा ।

कुरा सुनौं आशिका अर्यालको । ‘स्कुल वा कलेज आउजाउ गर्न सार्वजनिक गाडी चढ्नैपर्छ । तर त्यहाँ हामीलाई केटाहरुबाट जोगिन गाह्रो छ । कोही छुन खोज्छन्, कोही अनावश्यक बोल्न खोज्छन्, कोही धकेल्न खोज्छन्,’ उनी थप्छिन्, ‘अन्जानमा त्यस्तो हुनु ठूलो कुरा भएन । तर नियतवश नै त्यस्तो गर्नेहरु बढी हुन्छन् ।’

जब आफूलाई असहज हुन्छ, त्यसको प्रतिपाद गर्न पनि कठिन नै छ । आशिका अर्याल भन्छिन्, ‘हामीलाई थाहा हुन्छ, उनीहरुले नियतवश गरेका हुन् वा होइनन् भन्ने । यदि नियतवश गरेका छन् र हामीले त्यसविरुद्ध केही भन्यौं भने आसपासका मान्छेहरुले हाम्रो साथ दिंदैनन् । बरु उनीहरुले अन्जानमै त्यस्तो गरेको हो भनिदिन्छन् ।’

गाडीमा चढ्दा उनीहरुले सकेसम्म झ्यालतर्फको सिट रोज्ने गर्छन् । ‘झ्यालतर्फ बस्दा अलि सुरक्षित भएको जस्तो लाग्छ,’ झरना भन्छिन्, ‘अर्कोतर्फ बस्यो भने केटाहरुले आफ्नो गोप्य अंगले हाम्रो शरीरमा छुन थाल्छन् ।’

आशिकाकै कुरामा शर्मिला दाहाल थप्छिन्, ‘हाम्रो आवाज त्यही दबाइन्छ । हामी नै पछाडि हट्नुपर्ने हुन्छ ।’

सार्वजनिक गाडी सधैंजसो भीडभाड हुन्छ । यस्तो स्थितिमा जब पछाडि बसेका पुरुष यात्रु गाडीबाट ओर्लनका लागि अगाडि सर्दै आउँछन्, उनीहरुको हात युवतीहरुको शरीरमा सल्बलाउन थाल्छ । ‘हामीलाई पछाडि जान भन्दै उनीहरुले हातले हाम्रो कम्मर र शरीरको अरु अंगमा हात लगाउँछन्,’ झरना खनाल भन्छिन्, ‘उनीहरु त्यसरी अगाडि सर्दा हाम्रो शरीरमा छोइन सक्छ तर हात नै लगाउनु त भएन नि ।’

उनीसँग यस्ता थुप्रै तीता अनुभव छन् । उनी आफ्नो भोगाइ सुनाउँछिन्, ‘मेरो दिदी र म घर फर्किने बेला रात परिसकेको थियो । गाडीको अन्तिम दुई सिट खाली थियो । म एकातिर बसें, दिदी माझमा बसेकी थिइन् । त्यसअघि दुई जना केटा बसेका थिए । उनीहरु अगाडितिर फर्किएर बस्नुपर्नेमा हामीतर्फ पछाडि फर्केर बसे । उसले सुरुमा यताउता हेरेजस्तो गरेर मेरो दिदीलाई ‘कम्प्लिमेन्ट’ दियो । तपाईं त फलानो हिरोइन जस्तै हुनुहुँदो रहेछ । उसले त्यतिसम्म भन्नु त ठीकै हो । त्यसपछि उसले फेरि ‘हजुर कता झर्ने नि’ भन्दै सोधीखोजी गर्न थाल्यो । दिदीले कुनै चासो दिइन । तैपनि उसले चाहिं म क्यानडाको लागि अप्लाई गर्दैछु भन्दै आफ्नो कुरा सुनाउन थाल्यो । उसले दिदीलाई प्रभावित गराउन खोजेको कि के गरेको ?’

त्यतिमा मात्र ऊ रोकिएन । ‘हामी जहाँ झर्ने हो, ऊ पनि त्यही ओर्लिन तयार भयो र हामीले गाडी भाडा दिइरहँदा पर्खेर बस्यो,’ झरना भन्छिन्, ‘उसको नियत नै अर्कै क्या ।’

सार्वजनिक यातायातमा युवतीहरुलाई छुने, चलाउने, गिज्याउने मात्र नभई अनावश्यक सोधीखोजी गरेर पनि सताउने गरेको उनीहरुको अनुभव छ । त्यसमा पनि आफ्ना उमेरभन्दा वयस्क एवं ‘अंकलहरु’ यस्तो प्रवृत्तिका उनीहरुले पाएका छन् । काजल सुनाउँछिन्, ‘यस्तो व्यवहार चाहिं हाम्रै उमेरका ठिटाहरुले भन्दा पनि ३० देखि ५० वर्ष उमेरका अंकलहरुले गर्छन् । किशोर वा अलि कम उमेरकाहरु लजालु हुन्छन्, बोलिहाल्ने गर्दैनन् ।’

त्यस्ता व्यक्तिहरुले आफूहरुलाई अनेक प्रश्न गर्ने, आफूप्रति चासो राख्ने गरेको काजल बताउँछिन् । उनको कुरामा शर्मिला सहमत जनाउँछिन् । शर्मिला भन्छिन्, ‘अलि कम उमेरका केटाहरु आफ्नै धुनमा हुन्छन् । तर हाम्रो बुवाहरुको उमेरका मान्छेहरुले चाहिं नराम्रो व्यवहार गरिरहेका हुन्छन् ।’

त्यस्ता व्यक्तिहरुले सार्वजनिक यातायातमा पनि व्यक्तिगत प्रश्नहरु गर्ने, आफ्नो व्यक्तिगत कुरा सुनाउने गरेको उनीहरु बताउँछन् । झरना भन्छिन्, ‘म चढेको गाडीमा त्यस्तै अंकलले मेरै उमेरका एक जना साथीलाई अनावश्यक प्रश्न सोधिरहेका थिए । कलेज गइरहेकी ती किशोरीको नाम, घर, थर, बुवा के गर्छन्, आमा के गर्छन् भन्दै सोधिखोजी गरे ।’ यस्तो अवस्थामा नबोली बस्नु भएन । बोलेर आफ्ना व्यक्तिगत कुराहरु भन्न पनि सहज हुँदैन । तर ‘अंकलहरुले प्रश्न सोधेर हैरान बनाउने’ झरना बताउँछिन् ।

‘त्यो अंकलसँग उनी बोल्न खोजिरहेकी थिइनन् । न उनले अंकलसँग प्रतिप्रश्न नै गर्‍यो । यस्तो स्थितिमा त उनी मसँग बोल्न खोजेका छैनन् भनेर अंकलले थाहा पाउनुपर्ने नि,’ झरना भन्छिन्, ‘एकोहोरो व्यक्तिगत कुरा सोधेको सोधेकै गर्छन् ।’

गाडीमा चढ्दा उनीहरुले सकेसम्म झ्यालतर्फको सिट रोज्ने गर्छन् । ‘झ्यालतर्फ बस्दा अलि सुरक्षित भएको जस्तो लाग्छ,’ झरना भन्छिन्, ‘अर्कोतर्फ बस्यो भने केटाहरुले आफ्नो गोप्य अंगले हाम्रो शरीरमा छुन थाल्छन् ।’

जतिसुकै समानताको कुरा गरेपनि केटीहरुले भोग्नुपर्ने यस्तो असहज स्थिति ज्यूँका त्यूँ रहेको उनीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘यो केटा, यो केटी भनेर अलग ढंगले नसोचौं । सबैलाई एउटै रुपमा हेरौं । अनि त्यही अनुरुप व्यवहार गरौं ।’

झरना त्यसबेला उनी भक्तपुरको दुवाकोटमा बस्थिन् । दुवाकोटबाट पढ्नका लागि कमलविनायक पुग्नुपर्ने । उनी गाडीमा भित्तातर्फ बसेकी थिइन् । एउटा केटा उनलाई हातले छेकेर उभिए । ‘ऊ आफ्नो हातमा सुतेको बहाना गरेर मलाई छुन थाल्यो,’ झरना भन्छिन्, ‘त्यसबेला मलाई एकदमै असहज भएको थियो ।’

किशोरवयमा खासगरी स्कुल-कलेज पढ्दै गर्दा सार्वजनिक यातायातमा हिंड्नुपर्ने बाध्यता नै छ । आफूसँग सवारीसाधन नहुन सक्छ र ट्याक्सीमा चढ्ने स्थिति पनि हुँदैन । तर सार्वजनिक यातायातमा यात्रा गर्नुपर्दा अनेक झमेला आइलाग्छ । कसैले अनावश्यक सोधीखोजी गर्छन्, कसैले गिज्याउँछन्, कसैले छुने चलाउने गर्छन्, कसैले आफ्नो गोप्य अंगले छुने चेष्टा गर्छन् । उनीहरु खुलेर यसको विरोध गर्न पनि सक्दैनन् । जब विरोध गर्छन्, उनीहरुलाई साथ दिने भन्दा पनि उल्टै ‘किन हल्ला गरेको’ भन्दै गाली गर्नेहरु बढी हुन्छन् ।

‘गाडीका चालक-सहचालकले समेत हाम्रो पक्ष लिनुको साटो दुव्र्यवहार गर्न खोज्छन्,’ आशिका भन्छिन्, ‘भाँडा दिंदा हातै समाउने गर्छन् । त्यति मात्र होइन । मानौं मैले कोटेश्वरबाट बानेश्वर आउँदा भाडा २० रुपैयाँ दिनुपर्ने हुन्छ । मसँग ५० रुपैयाँको नोट मात्र छ र त्यो दिएँ भने उनीहरुले सरासर बाँकी पैसा फिर्ता गर्दैनन् । बरु अनावश्यक प्रश्नहरु गरिरहन्छन् ।’

सार्वजनिक गाडीमा मात्र होइन, सडकमा, चोकमा, गल्लीमा जताततै यस्तो व्यवहार हुने उनीहरुको अनुभव छ । शर्मिला आफ्नो भोगाइ यसरी सुनाउँछिन्, ‘म त्यसबेला १० कक्षामा पढ्थें । बिहानै स्कुल जाँदै गर्दा बाटोमा चिनेकै अंकलले आफ्नो बाइक रोक्नुभयो । म सरासर आफ्नो बाटो गइरहेको थिएँ । त्यो अंकलले चाहिं म पुर्‍याउँछु बाइकमा बस भन्दै कर गर्न थाले । म जान्न भन्दा पनि उसले जोड गरिह्यो । अनि मैले पुलिस बोलाउँछु भनेपछि मात्र त्यो अंकल गयो । त्यस दिन म विद्यालयमा पनि राम्ररी पढाइमा ध्यान दिन सकिन । सुन्दा त यो सामान्य लाग्छ तर हामीलाई यस्तो कुराले निकै डिस्टर्ब गर्छ ।’

सार्वजनिक गाडी र स्थानमा मात्र होइन, घरमा पनि उनीहरुले असुरक्षित र असहज महसुस गरिरहेका हुन्छन् । ‘छतमा गएर लुगा सुकाइरहेको बेला कसैले हेरिरहेको छ कि, फोटो खिचिरहेको छ कि भनेर एक किसिमको डर हुने गर्छ,’ आशिका भन्छिन् ।

त्यसैगरी घरबाट बाहिर निस्केर हिंड्दा चिनेजानेकै मान्छेहरुले चियोचर्चा गरिरहेका हुन्छन् । कस्तो लुगा लगायो, कहाँ गयो, कसरी हिंड्यो भनेर हेर्ने गरेको आशिका बताउँछिन् । जतिसुकै समानताको कुरा गरेपनि केटीहरुले भोग्नुपर्ने यस्तो असहज स्थिति ज्यूँका त्यूँ रहेको उनीहरुको अनुभव छ । उनीहरु भन्छन्, ‘यो केटा, यो केटी भनेर अलग ढंगले नसोचौं । सबैलाई एउटै रुपमा हेरौं । अनि त्यही अनुरुप व्यवहार गरौं ।’



from समाचार – Online Khabar https://ift.tt/lfSIPGK

Post a Comment

0 Comments