विराजभक्त श्रेष्ठ : विवेकशीलमा विवादपछि स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा

काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका विराजभक्त श्रेष्ठ पहिला विवेकशील साझा पार्टीमा थिए । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागे ।

२०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिवास जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री-मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए ।

उनी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । समानुपातिक सूचीबाट बागमती प्रदेशसभा सदस्य बन्न पुगेका उनले गरेका कामबारे वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

‘पाँच वर्ष प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई वागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन खास भूमिका खेलेजस्तो लाग्छ’ श्रेष्ठ भन्छन्, ‘पारदर्शिता होस् भनेर आफूले गरेको कामबारे प्रतिवेदन निकालें, हरेक वर्ष ।’

संघीय सरकारले गुठी विधेयक सदनमा पेश गरेपछि सरोकारवाला समुदाय आन्दोलित हुँदा आफूले सडक र प्रदेश सभा दुवै ठाउँबाट विधेयकको विरोध गरेको श्रेष्ठ बताउँछन् ।

उनले वागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर काम गरे । सदनको उद्योग समितिद्वारा गठित पर्यटन मन्त्रालयसम्बन्धी सुझाव कार्यदलको संयोजक पनि रहे उनी ।

नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेको अनुभव पनि छ ‘बिजनेस एड्मिनिस्ट्रेशन’का स्नातक उनीसँग ।

काठमाडौं ८ कै बासिन्दा श्रेष्ठले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल-रेस्टुरेन्टहरू चलाए । विभिन्न अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर पनि खाए । कामसँगै राजनीतिमा सक्रिय उनी विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि पार्टीबाट अलग भए ।

श्रेष्ठ अहिले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उठेका हुन् । उनको प्रतिस्पर्धा नेकपा (एमाले)का शिवसुन्दर राजवैद्य , एकीकृत समाजवादीका जीवनराज श्रेष्ठ र  हाम्रो नेपाली पार्टीका सुमन सायमीसँग प्रतिस्पर्धा छ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं-८ मा दलगत रूपमा वडाअध्यक्षहरूले ल्याएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२ र माओवादी केन्द्रले १८९ मत पाएका छन् ।

विराजभक्त श्रेष्ठसँग भने न बलियो पार्टी संगठन छ न त गठबन्धनको बल । दलहरूको रवैयाबाट निराश भए पनि उनीहरूलाई भोट दिइरहेका मतदातालाई आफू भरपर्दो विकल्प भएकोमा आश्वस्त पार्ने चुनौती छ उनलाई ।



from समाचार – Online Khabar https://ift.tt/nUFwql7

Post a Comment

0 Comments