मुन्धुम, मार्क्सवाद र मिथ्या ज्ञान

साइनो केलाउने मामिलामा मुन्धुमीहरू अरूभन्दा बढी नै संवेदनशील छन् । नयाँ मानिससँग भेट हुनेबित्तिकै सबैभन्दा पहिले साइनो सम्बन्धकै खोजी हुन्छ । मान्यजनसँग बोल्दा वाक्यपिच्छे साइनो लगाएर बोलिन्छ । यो पंक्तिकारलाई बाल्यकालमा छिमेकी छुना साइँली (काकी/सानिमा साइँली)ले यसरी साइनो लगाएर बोल्न सिकाउनुभयो ।

साइनो सम्बन्धप्रति संवेदनशील हुने यो परम्परालाई हिजोआजका मुन्धुम संकलकहरूले चाहिं धान्न नसकिरहेको आभास हुन्छ । मुन्धुम र पाश्चात्य चिन्तन परम्पराबीचको साइनो केलाउने मामिलामा मुन्धुम संकलकहरू चुकिरहेका छन् । मुन्धुम संकलकहरूलाई साइनो केलाउन सिकाउने ‘गुरु’ जरूरी देखिएको छ ।

पछिल्लो समय मुन्धुम संकलन गर्ने काममा थुप्रै व्यक्तिले चासो राख्न थालेका छन् । मुन्धुमको विषय रंगमञ्चमा पनि प्रस्तुत गर्न थालिएको छ । तर, मुन्धुमको विश्व दृष्टिकोण बोध गर्ने मामिलामा भने भयंकर अस्पष्टता देखिएको छ ।

‘मुन्धुम भनेको प्राचीन मार्क्सवाद हो, मार्क्सवाद भनेको आधुनिक मुन्धुम हो’ भन्ने बित्तिकै कुरो बिग्रियो । मुन्धुम र मार्क्सवाद एक-अर्काका विपरित चिन्तनधारा हुन् ।

मुन्धुमलाई बुझ्न मुन्धुमी दृष्टिकोण नै जरूरी हुन्छ । पराइ दृष्टिकोणबाट हेर्ने बित्तिकै मुन्धुम, मुन्धुम रहँदैन । यसतर्फ मुन्धुमविद्हरूले समयमै ध्यान दिएको राम्रो हुन्छ ।

साइनो सम्बन्ध

साइनो नै केलाउने हो भने मुन्धुमसँग वैदिक, बौद्ध, जैन, बोन, ताओ, कविर, मष्ट जस्ता धर्मपन्थहरूको नजिकको नाता छ । यी सबै हिमालय पर्वतीय सभ्यताले पैदा गरेका ज्ञान परम्परा हुन् । जो तपश्चर्याको पद्धतिमा आधारित छन् । तपश्चर्याको पद्धति आफैंमा बृहत् र विविधतापूर्ण छ । मुन्धुम यसभित्रको तन्त्रधारा हो ।

शब्द, भाषा र बिम्व विधान फरक भए पनि जीवन र जगतलाई बोध गर्ने मामिलामा सबै तपस्वी धाराहरू एकै ठाउँमा छन् । फरक-फरक पन्थमा फरक-फरक बुद्धपुरुषको व्यक्तित्वले काम गरेको हुन्छ । तर अस्तित्वगत हिसाबले सबै बुद्धपुरुष र धर्मपन्थ समान छन् । मुन्धुमले जीवन र जगतलाई जुन रूपमा अनुभूत गर्दछ, अन्य धर्मपन्थहरूले पनि सोही रूपमा अनुभूत गर्दछन् ।

साइनो केलाई हेर्दा ‘आधुनिक विज्ञान’ सँग पनि मुन्धुमको नजिकको नाता भेटिन्छ । तर मार्क्सवाद वा उदारवाद वा कुनै पनि प्रकारका पाश्चात्य विचारधारासँग मुन्धुमको कुनै साइनो सम्बन्ध भेटिंदैन । यो कुरो बुझ्न विज्ञानको इतिहास र ‘विज्ञानको क्रान्ति’ बुझ्न जरूरी छ । आज विज्ञान दुई भागमा विभाजित छ । एरिस्टोटलदेखि न्यूटनसम्मको विज्ञानलाई ‘शास्त्रीय विज्ञान’ मानिएको छ । बीसौं शताब्दीयता विकास भएको विज्ञानलाई ‘आधुनिक विज्ञान’ मानिएको छ ।

यी दुईखाले विज्ञानले जीवन र जगतको स्वभावका विषयमा विपरित कुरा गर्दछन् । रोचक कुरा के हो भने, ‘शास्त्रीय विज्ञान’ ले मुन्धुमको खण्डन गर्दछ । ‘आधुनिक विज्ञान’ ले मुन्धुमलाई समर्थन गर्दछ । मार्क्सवादको आधार ‘शास्त्रीय विज्ञान’ हो । यसकारण मुन्धुम र मार्क्सवाद विपरित छन् ।

विधागत दृष्टि

शास्त्रीय विज्ञान/मार्क्सवादले यो संसारमा पदार्थलाई सिर्जना वा नष्ट नहुने, केवल रूपान्तरण मात्र हुने तत्व मान्दछ । संसारको सुरुवात र अन्त्य नभएको कुरा गर्छ । भौतिकतालाई नै शाश्वत सत्य मान्दछ ।

तर मुन्धुमले अभौतिकताबाट भौतिकता सिर्जना हुन्छ भन्दछ । शून्यबाट सृष्टि हुन्छ भन्दछ । अभौतिकतालाई ‘मूल’ र भौतिकतालाई ‘छायाँ’ मान्दछ । मुन्धुममा यस्ता थुप्रै कथा, बिम्व र कहानी छन् जहाँ संसार शून्यबाट सिर्जना हुने र नष्ट हुने क्षणिक चिज मानिन्छ । मुन्धुमले प्रकृतिको त्यो अभौतिक (शून्य) आयामलाई ‘माङ’ भन्दछ, जो सारा संसारको कारक हो । यो वैदिकहरूको ब्रहृम, बौद्धहरूको शून्य, जैनहरूको कैवल्य, ताओपन्थीहरूको ताओको समानार्थी हो ।

आजभन्दा ७० वर्षअघि ‘क्वान्टम क्षेत्र सिद्धान्त’ का संस्थापक जुलियन स्विंगरले सर्वप्रथम अभौतिकता -शून्य) नै भौतिकताको जननी हो भन्ने सिद्धान्त दिएका थिए । भर्खरै मात्र यो सिद्धान्त प्रयोगशालाबाट पनि सिद्ध भएको बताइएको छ । बिग थिंक रिपोर्ट २०२२ अनुसार अनुसन्धानकर्ताहरूले प्रयोगशालामा शून्यबाट कण-प्रतिकण जोडा सिर्जना गर्न सफल भएका छन् । यसले संसार शून्यबाट सिर्जना भएको हो भन्ने कुरा सिद्ध भएको मानिएको छ । यसरी मुन्धुम र आधुनिक विज्ञानबीच साइनो जोडिएको छ ।

शास्त्रीय विज्ञान/मार्क्सवाद भन्छ- जीवन भनेको ‘भौतिक संरचना’ हो, शरीरको विघटनसँगै जीवनको मृत्यु हुन्छ । जीवनको आत्मा, पूर्वजन्म-पुनर्जन्म हुँदैन । मुन्धुम भन्छ- शरीरको जन्म र मृत्यु हुन्छ, तर जीवनको जन्म वा मृत्यु हुँदैन । जीवनको मूल अभौतिक आत्मा (शून्य) हो ।

प्राणी मर्छ तर आत्मा मर्दैन । यो निरन्तरको रूपान्तरणको प्रक्रियामा हुन्छ । यही क्रममा प्राणीहरूको पूर्वजन्म र पुनर्जन्म हुन्छ ।

आधुनिक जीव विज्ञान पनि भन्छ- जीवन शरीरमा सीमित हुने ‘स्थानीय तत्व’ होइन, अस्थानीय (ब्रहृमाण्डीय) तत्व हो । जीवन भौतिक संरचना मात्र होइन, अभौतिक कग्निसन (आत्मा) पनि हो । शरीरको जन्म र मृत्यु हुन्छ, जीवनको जन्म र मृत्यु हुँदैन ।

मनोविज्ञानको क्षेत्रमा शास्त्रीय विज्ञान/मार्क्सवादले शरीरलाई ‘प्रधान’ र मनलाई ‘गौण’ तत्व मान्दछ । स्वास्थ्य र चेतनाको निणर्ायक चिज भौतिक शरीरलाई मानिन्छ । मनलाई शरीरको ‘छायाँ’ मात्र मानिन्छ । मानसिक रोगको कारण पनि शरीर संरचनामै खोजिन्छ । मनोरोगलाई शरीरक्रिया विज्ञान (फिजियोलोजी) कै विधामा राखिन्छ ।

पाश्चात्य समाजमा मनोरोगलाई अलग विधामा उभ्याउनुपर्छ भन्ने आवाज बीसौं शताब्दीमा आएपछि मात्र उठेको हो । यो आवाज उठाउने पात्र सिग्मण्ड फ्रायड हुन् ।

कुन कथा विज्ञानको नियम हो र कुन सामाजिक इतिहास हो ? यो चिनेर सोही अनुसार व्याख्या गर्दा मात्र मुन्धुम कथाको वास्तविकता खुल्छ । तर यो सबै गर्न त फेरि पनि मुन्धुमी दृष्टिकोण नै चाहिन्छ

तर मुन्धुममा शरीर र मनलाई परिपूरक मानिन्छ । मनलाई शरीर जतिकै महत्वको र स्वायत्त तत्व मानिन्छ । शारीरिक उपचार र मनो-उपचार, दुवै विधालाई बराबर महत्व दिइन्छ । मुन्धुमको शिर उठाउने विधान यही मनो-उपचारको विधि हो । यस अतिरिक्त मुन्धुममा स्वास्थ्य र चेतनाको निर्णायक चिज आत्मा (माङ) हो भन्ने मानिन्छ ।

आधुनिक मनोविज्ञानले पनि हिजोआज शरीर र मनबीच परिपूरक सम्बन्ध हुन्छ भन्ने तथ्य स्वीकार गर्न थालेको छ । यही अवधारणाको लागि आधुनिक मनोविज्ञानमा मनोशरीर (साइकोसेमेटिक) शब्द प्रयोग गरिन्छ । शारीरिक उपचार (हेल्थ) र मनो-उपचार (हेलिंग) लाई बराबर महत्व दिइन्छ ।

यो नमूना मात्र हो । मुन्धुम र शास्त्रीय विज्ञान/मार्क्सवाद बीच हरेक विधाहरूमा यस प्रकारका भिन्नता देखाउन सकिन्छ । मुन्धुम र मार्क्सवाद बीच कुनै साइनो छैन । यिनीहरूको चिन्तनको पाराडाइम नै अलग हो । बरु यसो भन्न सकिन्छ- मुन्धुम, आधुनिक विज्ञानको पुर्खा हो । मार्क्सवाद, शास्त्रीय विज्ञानको सन्तान ।

भय कि प्रेम ?

हिजोआज विकासे साहित्यमा ‘रैथाने ज्ञान परम्परा जोगाउनुपर्दछ’ भन्न थालिएको छ । प्राचीनकालका मानिसहरूमा वैज्ञानिक चेत थियो भन्ने व्यावहारिक स्वीकारोक्ति हो, यो । तर प्राचीनकालमा कसरी वैज्ञानिक ज्ञान सम्भव भयो ? यो प्रश्नमा भने आजका विद्वान् प्रवेशै गर्न चाहँदैनन् ।

यसमा हाम्रो शिक्षा प्रणालीको दोषले काम गरेको छ । आजसम्म हामीलाई भयमा आधारित समाजशास्त्र पढाइएको छ । यस्तो समाजशास्त्रले भन्दछ- प्राचीनकालमा अज्ञानताको कारण मानिस प्राकृतिक परिघटनाबाट भयग्रस्त भयो । यही भयले प्रकृति पूजा जन्मायो । रैथाने ज्ञान अज्ञानी मनुष्यको त्यही भयको परिणाम हो ।

भयमुखी समाजशास्त्रको यो निष्कर्ष मूर्खतापूर्ण छ । यथार्थमा भयबाट विज्ञान कहिल्यै जन्मिंदैन । सचेतन खोजबाट मात्र जन्मन्छ । विषयप्रतिको प्रेम र आत्मीयताबाट मात्र जन्मन्छ । रैथाने ज्ञान जन्माउने मुन्धुमी पुर्खाहरू अज्ञानी होइनन्, भयमा आधारित समाजशास्त्र चाहिं अज्ञानी हो ।

प्राचीनकालमा हिमालय पर्वतीय सभ्यतामा एक अनौठो विज्ञान पैदा भएको थियो । जुन तपश्चर्याको पद्धतिमा आधारित थियो । जसले प्राचीनकालमा नै सचेतन खोजबाट विज्ञानको समृद्ध जग बसाएको थियो । वैदिक, बौद्ध, जैन, बोन, ताओ, मष्ट र मुन्धुम लगायतका ज्ञान परम्परा यसै पद्धतिबाट स्थापित भएका थिए । यो तथ्य स्वीकार गर्दा मात्र प्राचीनकालको विज्ञानको रहस्यसम्म पुग्न सकिन्छ ।

तर हाम्रा विद्वानहरू यो रहस्य स्वीकार गर्न तयार छैनन् । कारण, यिनीहरू शास्त्रीय विज्ञान र भयमा आधारित समाजशास्त्रको ‘हेजेमोनी’ को शिकार भएका छन् । यही कारण ‘पुर्खाहरू अज्ञानी थिए, प्रकृतिसँग डराउँथे, लेख्न जान्दैनथे भन्ने भ्रमपूर्ण भाष्यमा फसेका छन् । मुन्धुम संकलकहरूलाई लागेको रोग पनि यही हो ।

जसले मुन्धुम जस्तो चेतना हासिल गर्‍यो, उसलाई अज्ञानी भन्नु वा लेख्न जान्दैनथे भन्नु केटाकेटी कुरा हो । मुन्धुमलगायत सारा तपस्वी ज्ञान प्राचीन समयमै लिपिबद्ध नगरिनुको कारण अर्कै छ । यहाँ यति भनौं, मुन्धुम प्रकृतिप्रतिको सचेतन प्रेम र आत्मीयताबाट जन्मिएको विज्ञान हो । यस्तो विषयबारे सही धारणा बनाउन प्रेममा आधारित समाजशास्त्र नै चाहिन्छ ।

तर आजसम्म यहाँ प्रेममा आधारित समाजशास्त्रको पुस्तक उपलब्ध छैन । कारण, आजसम्म हामीले समाजलाई मुन्धुमी दृष्टिकोणबाट हेरेकै छैन । जुन दिन हामी मुन्धुमी दृष्टिकोणबाट समाजलाई हेर्नेछौं, त्यो दिन समाजशास्त्रको ढाँचा फरक हुनेछ । त्यही दिन प्रेममा आधारित समाजशास्त्रको पुस्तक तयार हुनेछ । तब मात्र इतिहास सम्बन्धी सही दृष्टिकोण स्थापित हुनेछ ।

मुन्धुम संकलकहरूको आजको काम शास्त्रीय/पाश्चात्य विज्ञानको मिथ्या ज्ञानमा अल्मलिनु होइन, मुन्धुमी ज्ञानमा आधारित समाजशास्त्र निर्माणमा जोड गर्नु हो ।

मुन्धुमी दृष्टिकोण

पाश्चात्यहरूको ‘रिलिजन’ र पूर्वको ‘धर्म’ बीच आधारभूत अन्तर छ । पाश्चात्यहरूको ‘विज्ञान’ र पूर्वको ‘धर्म’ भने पर्यायवाची हुन् । विज्ञान र धर्म, दुवैमा जीवन र जगतको वास्तविक नियम थाहा पाउन विशेष अनुसन्धान गरिन्छ । फरक यत्ति हो, विज्ञानले वस्तुगत पद्धति अपनाउँछ, धर्मले आत्मगत पद्धति ।

विज्ञान, गणितको भाषामा बोल्दछ । धर्म, बिम्व, प्रतीक र काव्यको भाषामा बोल्दछ । गणितको भाषा स्पष्ट हुन्छ । यसमा विकृतिको संभावना कम हुन्छ । यो विज्ञानको सबलता हो । गणितको दुर्बलता के हो भने, यसले ‘शून्य सत्य’ -अभौतिक यथार्थ) को आभाससम्म पाउँछ, बोध जगाउन सक्दैन ।

यता धर्मको पद्धतिले बोध जगाउँछ । बिम्व, प्रतीक र काव्यको भाषा सर्वसाधारणसम्मलाई रुचिकर हुन्छ । यसबाट गहिरा तथ्य पनि सरल ढंगले बुझाउन सकिन्छ । यो धर्मको सबलता हो । तर बोध ज्ञान वैयक्तिक हुन्छ । बोध ज्ञानलाई शब्द र गणितमा व्यक्त गर्न सकिंदैन । बिम्व, प्रतीक र काव्यहरूको अपव्याख्या पनि हुन सक्छ । यो धर्मको दुर्बलता हो । मुन्धुमको मामिलामा पनि यो नियम लागू हुन्छ ।

शास्त्रीय विज्ञान र भयमा आधारित समाजशास्त्र पढेर विद्वान कहलिएकाले यो तथ्य ठम्याउनै सक्दैनन् । तब यिनीहरूले धर्मले बनाएका बिम्व, प्रतीक र काव्यलाई पनि सामाजिक इतिहास मान्ने गल्ती गर्दछन् । तब पुराणहरू ‘इतिहासको वर्गसंघर्ष’, ‘रुढिवाद’ र ‘शोषणको जाल’ बन्दछन् ।

यस्तो मिथ्या ज्ञान सृजना गर्ने प्रमुख पात्र भारतीय महापण्डित राहुल सांकृत्यायन हुन् । भारत र नेपालमा राहुलका मार्क्सवादी शिष्य प्रशस्त छन् । अहिलेका केही मुन्धुम संकलक पनि राहुल पथमा हिंडिरहेको देखिएको छ । यस्तो पाराले मुन्धुमको वास्तविक मर्मसम्म पुग्न सकिन्न ।

उपलब्ध दस्तावेजका आधारमा भन्न सकिन्छ, मुन्धुमको भाषा पनि बिम्व, प्रतीक र काव्यको भाषा हो । तर मुन्धुम संकलकहरू त्यसलाई सामाजिक इतिहास मान्ने गल्ती गरिरहेका छन् ।

यो ध्यान दिन जरूरी छ कि मुन्धुममा वणिर्त कथा सबै सामाजिक इतिहास होइनन् । त्यहाँ केही यस्ता कथा छन् जसले भौतिकशास्त्र, जीवशास्त्र, मनोविज्ञान र समाजशास्त्रका गहिरा नियम अभिव्यक्त गर्दछन् । केही यस्ता कथा पनि छन् जसले सामाजिक इतिहासतर्फ संकेत गर्दछन् ।

कुन कथा विज्ञानको नियम हो र कुन सामाजिक इतिहास हो ? यो चिनेर सोही अनुसार व्याख्या गर्दा मात्र मुन्धुम कथाको वास्तविकता खुल्छ । तर यो सबै गर्न त फेरि पनि मुन्धुमी दृष्टिकोण नै चाहिन्छ ।

अबका दिनमा मुन्धुम संकलकहरूले नजोडिने साइनो जबरजस्ती जोड्न बल गर्ने होइन, जोडिने साइनो जोड्न चाहिं बल गर्नुपर्छ । मार्क्सवादसँग होइन, तपस्वी विज्ञान र आधुनिक विज्ञानसँग चाहिं साइनो जोड्न बल गर्नुपर्छ । तब मात्र मुन्धुमी दृष्टिकोणको विकास हुन्छ । तब मात्र मुन्धुमी पुर्खाप्रति न्याय हुन्छ ।



from समाचार – Online Khabar https://ift.tt/9UYxDbm

Post a Comment

0 Comments