सरकारी टेलिभिजनमा देखापर्दै सीले भने- समाजवादको नयाँ विजयतर्फ अगाडि बढौं

१२ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले सरकारी टेलिभिजनमा देखापर्दै चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक दशकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको मङ्गलबार भ्रमण गर्दै उक्त टिप्पणी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ शाङ्घाई सहयोग शिखर सम्मेलन (एससीओ) शिखर सम्मेलनबाट फर्केको १० दिनपछि सोमबार दिउँसो पहिलोपटक देखापरेका हुन् । आगामी महिना अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को वार्षिक बैठक हुँदैछ । उक्त बैठकमा राष्ट्रपतिका रूपमा जिनपिङ तेस्रो कार्यकालका लागि निरन्तरता दिन चाहन्छन् ।

एपी न्युज एजेन्सीले पनि जिनपिङ केही दिनपछि बेइजिङमा देखा परेका उल्लेख गरेको छ । उनी सरकारी कार्यक्रममा सहभागी हुन आएका र त्यसको फुटेज सरकारी टेलिभिजनमा प्रसारण भएको हो ।

कार्यक्रममा चिनियाँ राष्ट्रपतिसँगै प्रधानमन्त्री ली खछ्याङलगायत पार्टीका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । यसबाहेक यहाँ चिनियाँ सेनाका केही अफिसर पनि देखिएका थिए । उक्त कार्यक्रममा चीनको आर्थिक विकासबारे छलफल भएको थियो ।

चिनफिङले सेप्टेम्बर १६ मा उज्वेकिस्तानको समरकन्दमा भएको एससीओ शिखर सम्मेलनमा भाग लिएका थिए । दुई वर्षपछि उनको यो पहिलो विदेश भ्रमण थियो । समरकन्दमा दुई दिनको बसाइपछि जिनपिङ बेइजिङ फर्किए र त्यसपछि कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको पञ्चवर्षीय महाधिवेशन अक्टोबर १६ देखि सुरु हुँदैछ। यसमा जिनपिङले फेरि पाँच वर्षको म्याद थप्ने विश्वास गरिएको छ । सामान्यतया चीनको राष्ट्रपति दुई कार्यकालका लागि मात्र निर्वाचित हुन्छन्, तर यस मामिलामा जिनपिङलाई अपवाद मानिएको छ ।



from समाचार – Online Khabar https://ift.tt/rO0RvMm

Post a Comment

0 Comments