हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर -बिक्री दर) १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बंैकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।

मंगलबार थप महँगिदा एक अमेरिकी डलरको विनिमय दर -बिक्रीदर) १३०.९० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ, जुन डलरको विनिमय दर हालसम्मकै उच्च हो ।

गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । गत शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

१८ साउनमा एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाइ कायम गरेको थियो ।

भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी -पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

नेपालको व्यापार घाटा झनै बढ्ने जोखिम

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलरलाई भएको उनले बताए ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको थापा बताउँछन् । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने उनको तर्क छ । ‘डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम छ,’ थापाले भने ।

रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेकोमा पछिल्लो १/२ महिना यता युरो भने कमजोर बनेको छ ।

शुक्रबार युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेकोमा आइतबार युरोको खरिद मूल्य १२६ रुपैयाँ २० पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ७९ पैसा कायम भएको थियो ।

आज मंगलबार युरो झनै कमजोर बन्दै खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसामा झरेको छ ।



from समाचार – Online Khabar https://ift.tt/urSE5Wv

Post a Comment

0 Comments