धापमा संकलन भयो वाग्मतीमा बगाउने पानी, कात्तिकदेखि बगाउने तयारी

२७ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ धापमा संकलन गरिएको पानी वाग्मती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा बाँध बनाएर संकलन गरिएको पानी आगामी कात्तिकमा बगाउने गरी तयारी गरिएको वाग्मती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइले जनाएको छ ।

वाग्मती नदीमा हिउँदयाममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर अग्लो बाँध बाँधेर वषर्ाको पानी संकलन गरिएको छ । धाप बाँधमा वाषिर्क ८ लाख ५० हजार घन मिटर पानी संकलन गर्ने क्षमता छ ।

वाग्मती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइका इन्जिनियर निश्चल छतकुलीका अनुसार अहिले ८ लाख घनमिटर भन्दा बढी पानी संकलन भइसकेको छ । ‘ड्यामको ९८ प्रतिशत काम सकियो, अब आगामी कात्तिक महिनादेखि परीक्षणको रुपमा पानी छाड्ने गरी तयारी गरिरहेका छौं,’ इन्जिनियर छतकुलीले अनलाइनखबरसँग भने, ‘पानीको लेभल २०८७.१५ मिटर पुग्नुपर्ने हो, अहिले २०८३.३० सम्म पुगिसक्यो ।’

चाबहिलबाट करिब ३५ किलोमिटर पूर्वोत्तर पर्ने धापमा संकलन गरिएको पानी नागमती हुँदै वाग्मतीमा आइपुग्छ । अहिले धाप ड्यामबाट वर्षैभरी प्रतिसेकेण्ड ४० लिटर पानी छाड्न सक्ने क्षमता छ । त्यो थोरै पानीले वाग्मती सफा नहुने भएकाले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी हिउँदयाममा पर्ने ठूला चाडपर्वलाई लक्षित गरी प्रतिसेकेण्ड ४०० लिटर पानी छाड्ने योजना बनाइएको छ ।

‘सोह्र श्राद्ध, छठ, बाला चतुर्दशी, स्वस्थानी, माघे संक्रान्ति, शिवरात्री जस्ता मुख्य-मुख्य चाडपर्वमा सफा पानी बगाउने गरी तयारी गरिएको छ,’ इन्जिनियर छतकुलीले भने ।
यसबाट वाग्मती नदी प्रवाहमा सुधार आउने विश्वास छ । हिउँदयाममा वाग्मतीमा ढलसहितको लेदो बग्ने र दुर्गन्धित हुने समस्या समाधानमा यसले केही हदसम्म सघाउ पुग्ने विश्वास छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालका अनुसार धापमा पहिले वन्यजन्तुहरुलाई पानी खुवाउनका लागि भनेर इसिमोडको सहयोगमा साना पोखरी निर्माण गरिएको थियो । त्यही ठाउँमा अहिले बाँध बाँधेर पानी संकलन गरिएको हो । धापको जलासय शिवपुरी निकुञ्जभित्रै परेकाले वस्ती स्थानान्तरण गर्नु परेको छैन । डुबान क्षेत्रको जग्गा निजी नभएकाले मुआब्जा पनि दिनु परेको छैन ।

अटोमेटिक वेदर स्टेशन स्थापना

धाप बाँध स्थलमा मौसमी अवस्थाको सूचना संकलन गर्न अटोमेटिक वेदर स्टेशन स्थापना गरिएको छ ।

धाप बाँध स्थलमा स्थापना गरिएको वेदर स्टेशन

त्यसले जलसतह, वर्षाको मात्रा, तापक्रम, हावाको गती, सूर्यको तेज, जलवाष्पीकरण, जमिनको चिस्यान जस्ता सूचना कम्प्युटराइज्ड सिस्टमबाट स्वचालित ढंगले प्रवाह गर्दछ । साथै ड्यामको क्षमता जाँच्ने सेन्सरयुक्त उपकरण पनि जडान गरिएको छ । त्यसले सर्भरमा १०-१० मिनेटमा त्यहाँको फोटो पनि पठाउँछ ।

ती सबै विवरणहरु जल तथा मौसम विज्ञान विभाग र आयोजनाका कर्मचारीहरुले हेर्न सक्छन् । कुनै खतराको संकेत देखिए तटीय क्षेत्रका बासिन्दालाई सतर्कताको सूचना प्रवाह गरेर पूर्वतयारी गर्न सकिन्छ ।

धाप ड्यामका लागि एसियाली विकास बैंक (एडीबी)ले ५१ करोड ऋण सहयोग गरेको छ । धाप ड्याम बनाउन ९ अक्टुबर २०१५ मा गोन्झाउ-लामा-रमण जेभीसँग सम्झौता भएको थियो । ८ अक्टुबर २०१७ मा काम सम्पन्न गर्ने लक्ष्य भए पनि राष्ट्रिय निकुन्जबाट रुख काट्ने अनुमति लिन ढिलाइ भएपछि दुई वर्षपछि काम सुरु भएको थियो ।

कोभिड महामारी लगायतका कारणले पनि काम प्रभावित भएको थियो ।

बाँध बनाउन नेपालमै पहिलोपटक कंक्रिट फेस्ड रक ड्याम -सीएफआरडी) प्रयोग गरिएको छ । यो बाँधमा ८० प्रतिशत स्थानीय सामग्री प्रयोग भएको इन्जिनियर छतकुलीले बताए ।

नागमतीमा अर्को ड्याम बनाएर बिजुली निकाल्ने प्रस्ताव

धाप नागमती नदीको मुहान हो । नागमती वाग्मतीमा मिसिन्छ । धापको ड्यामबाट बगेर आएको पानीलाई करिब ५ सय मिटर तल नागमतीमा बाँध बाँधेर दुई मेगावाट बिजुली निकाल्ने योजना पनि बनाइएको छ ।

वर्षायाममा पशुपति क्षेत्रमा बागमती

नागमती ड्याम निर्माण लगायतको अध्ययनका लागि एडीबीले २७ करोड सहयोग गरेको छ । अष्ट्रेलियन सरकारको समेत स्वामित्व रहेको इन्टुरा तास्मानिया कम्पनीले त्यसको अध्ययन गरेको थियो । नागमती ड्यामको डीपीआर तयार भइसकेको इन्जिनियर छतकुलीले जानकारी दिए ।

यसको रिजर्भवायर र ड्याम राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने छ । नागमतीमा बन्ने ड्याम धापकोभन्दा १० गुणा ठूलो हुनेछ । धापको ड्याम २४ मिटर अग्लो छ भने नागमती ड्याम ९४.२ मिटर अग्लो हुने छ । धापबाट प्रतिसेकेण्ड ४० लिटर पानी बग्छ भने नागमतीको ड्याम बनेमा प्रतिसेकेण्ड ४ सय लिटर पानी वाग्मती नदीमा खसाल्न सकिने अध्ययनको निष्कर्ष छ ।

यसको विद्युत गृह सुन्दरीजलस्थित हाल मेलम्चीको पानी प्रशोधन केन्द्र बनाइएको स्थान नजिकै रहने छ । विद्युत् आयोजनाबाट निस्किएको पानीलाई सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन प्लान्टमा पनि जोड्न सकिने र त्यसलाई प्रशोधन गरी खानेपानीको रुपमा समेत प्रयोग गर्न सकिने विकल्प अघि सारिएको छ ।
नागमती ड्यामले ५० हेक्टर जमिन ओगट्ने छ । यसबाट महाकांल क्षेत्रका १४ घरधुरी प्रभावित हुने अध्ययनमा देखिएको छ ।

निर्माण सुरु गर्ने अनुमति लिनका लागि फाइल अहिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पुगेको छ । निकुञ्जपछि वन मन्त्रालयबाट पनि स्वीकृति पाएपछि निर्माणको काम सुरु गर्ने तयारी छ ।

उत्साहित जनप्रतिनिधि

ड्याम निर्माणको प्रगतिबारे बुझ्न नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदेश सांसद छिरिङ दोर्जे र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल आइतबार धाप पुगेका थिए । उनीहरुलाई आयोजनाका प्राविधिकहरुले धाप र नागमतीको कामबारे जानकारी गराएका थिए ।

प्राविधिकहरुको बि्रफिङ सुनेपछि नेता सिंहले वाग्मती नदीमा स्वच्छ पानी बगाउने आफ्नो सपना पूरा हुन लागेको भन्दै खुसी व्यक्त गरेको मेयर रिसालले जानकारी दिए । ‘यसबाट वागमती र त्यस वरपरको वातावरणमा सुधार आउनुका साथै धार्मिक, साँस्कृतिक, मनोरञ्जन, पर्यटन र भूमिगत पानी रिचार्जमा पनि उपयोगी हुनेछ,’ नेता सिंहको भनाइ उद्धृत गर्दै रिसालले भने । नेता सिंहले नागमतीको प्रक्रिया छिटो अघि बढाउन पहल गर्ने आश्वासन दिए ।

मेयर रिसालले पनि धाप ड्याम सम्पन्न भएको देख्दा एकदम खुसी लागेको बताए । ‘यो काम सम्पन्न गराउन मैले पनि आफ्नो क्षेत्रबाट सक्दो पहल गरें, अहिले काम पूरा भएको देख्दा एकदमै उत्साहित छु,’ मेयर रिसालले भने । जलस्रोतको बहुउपयोगी प्रयोगमार्फत् आर्थिक समृद्धि तथा सामाजिक रुपान्तर गर्ने सरकारको उद्देश्यमा यसले सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।



from समाचार – Online Khabar https://ift.tt/wVBfjM0

Post a Comment

0 Comments