प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण

१९ साउन, काठमाडौं । चिनियाँ नागरिक र्‍याङ र्‍याङ बुधबार साँझ साढे ७ बजेतिर लाजिम्पाटस्थित फ्याल्टमा बसिरहेका थिए । ७ जनाको समूह एक्कासी कोठाभित्र प्रवेश गरेपछि उनी झस्किए ।

यसरी कोठामा छिर्नेमध्ये एकजना पूर्वपरिचित दोभासे ओखलढुंगाका २६ वर्षीय सूर्यबहादुर राई थिए । उनी र्‍याङका निजी दोभासेका रुपमा काम गरेका व्यक्ति थिए । ‘कोठा छिर्ने बित्तिकै उनलाई हत्कडी लगाइदिएछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि कोठामा खोजी गरेर ९ लाख रुपैयाँ र २७ वटा मोबाइल पनि लिएर हिँडेछन् ।’

र्‍याङले भने चिनियाँ भाषामा को हुन् भन्दै प्रश्न गर्न थाले । तर उनीहरुले केही जवाफ नदिई खनतलासी लिइरहे । पछि दोभासेले आफूलाई पनि नियन्त्रणमा लिएर उनीहरुले त्यहाँसम्म लगेको बताए ।

काठमाडौं प्रहरीका अनुसार नगद र मोबाइल लगेपछि पनि उनीहरुले चिनियाँ नागरिकलाई छाडेनन् । सँगै लिएर तल उतारेर भाडामा लिइएको एक ट्याक्सीमा हाले र मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटलमा पुर्‍याए । ‘चिनियाँलाई लिएर निस्किँदा केही ट्याक्सीमा बसेका थिए, केहीले मोटरसाइकलमा पछ्याइरहेका थिए’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘होटलमा लगेपछि उनीहरुले फेरि बार्गेनिङ थालेका थिए ।’ उनीहरुले एक करोड रुपैयाँ फिरौती मागेका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । तीमध्ये दुईजना प्रहरी अधिकारी हुन् ।

उच्च अदालत पाटनका एक न्यायाधीशका निजी सुरक्षा अधिकृतका रुपमा खटिएका हवल्दार कर्णबहादुर गुरुङले उनलाई अपहरण गरेर ‘केरकार’ गरेका थिए । चिनियाँ नागरिकबारे सूचना पाएपछि उनले नै अपहरणको योजना बनाएको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार प्रहरी वृत्त बालाजुका जवान नुवाकोटका शिव सुनारले उनलाई नियन्त्रणमा लिन हत्कडीको व्यवस्था गरेका थिए । ‘दुईजनाले प्रहरी पेशाको दुरुपयोग गरेर अपहरण र असूली गर्न खोजेको भेटिएको छ’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

अपहरणमा परेका भनिएका चिनियाँ नागरिक पनि नेपालमा अवैध गतिविधिमा संलग्न रहेको आशंका छ । त्यसैले उनले अपहरणबारे कसैलाई पनि नबताउने र सजिलै पैसा आउने ठानेर उनीहरुले चिनियाँलाई बन्धक बनाएको हुनसक्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

तर होटलमा यो गिरोहले चिनियाँ नागरिकका जुन साथीलाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागे, उनैले प्रहरीसम्म अपहरणको सूचना पुर्‍याइदिए । ‘प्रहरीलाई सूचना आउने वित्तिकै टोली बनाएर गोप्य अपरेशन थालेका थियौं’ काठमाडौंका एसएसपी बोहोराले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा होटलमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं ।’

स्रोतका अनुसार प्रहरीले ती साथीमार्फत ५० लाख रुपैयाँमा चिनियाँ नागरिकलाई छाड्ने गरी अपहरणकारीसँग बार्गेनिङ गरेको थियो । ‘उनीहरुले बिजी मल अगाडि झोलामा पोका पारेर पैसा ल्याउनु भनेका थिए’ स्रोत भन्छ, ‘सोही अनुसार पैसा लिन आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अन्य व्यक्तिबारे पनि खोजी थालेको थियो ।’

त्यही क्रममा पक्राउ परेका व्यक्तिमार्फत समूहका सबैजना पक्राउ गरेको प्रहरी बताउँछ । पक्राउ पर्ने अन्यमा गोरखाका लक्ष्मण गुरुङ, सर्लाहीका रोहित मगर, प्यूठानका विशाल मगर र नुवाकोटका विनोद केसी छन् ।

उनीहरु सबैमाथि विस्तृत अनुसन्धान गर्नका लागि अपराध तथा शरीर बन्धकसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको एसएसपी बोहोराले बताए ।



from समाचार – Online Khabar https://ift.tt/QXhcWEJ

Post a Comment

0 Comments