२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा सार्वजनिक शौचालयका विषयमा बहस चलिरहँदा यसबारे छिमेकी महानगरपालिका ललितपुर भने मौन छ ।
ललितपुर महानगरपालिकाभर लगनखेल, मंगलबजार र पाटनढोका गरी जम्मा तीन वटा मात्रै सार्वजनिक शौचालय छन् । जबकि जनसंख्याको आधारमा हेर्नै हो भने यो निकै कम हो ।
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल महानगरपालिकाले सार्वजनिक शौचालय बनाउन नसकेको स्वीकार गर्छन् ।
‘महानगरपालिकामा सार्वजनिक शौचालयको संख्या बढी नै हुनु पर्ने हो तर हामीसँग तीनवटा मात्रै छ’ उनले भने,’नयाँ आर्थिक वर्षदेखि आवश्यक भएको स्थानको खोजी गरी सार्वजनिक शौचालय बनाउने निर्णय गरेका छौं ।’
सार्वजनिक शौचालय निर्माणका लागि महानगरभित्रका बढी भिडभाड र आवश्यकता रहेको सम्भाव्य स्थानको खोजी गरी शौचालय निर्माण गर्ने उनले बताए ।
महानगरपालिकाका वातावरण विभाग प्रमुख प्रदीप अमात्यले सार्वजनिक शौचालयका बारेमा बोल्न नमिल्ने भन्दै बोल्न मानेनन् ।
ललितपुरमा चिरिबाबु महर्जन दोस्रो पटक मेयरपदमा निर्वाचित भएका छन् । तर उनले पहिलो कार्यकालमा महानगरपालिकाभित्र प्रर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण गर्न सकेनन् ।
मेयर चिरिबाबु महर्जन पहिलो कार्यकालमा शौचालय निर्माण गर्न नसके पनि नयाँ आर्थिक वर्षदेखि प्रत्येक वडामा सार्वजनिक शौचालय बनाउने निर्णय भइसकेको बताउँछन् ।
‘पहिलो कार्यकालमा अन्य काममा हुँदा शौचालय बनाउन नसकेका हौं,महर्जन ले भने’ नयाँ आर्थिक वर्षदेखि हरेक वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्छौं ।’
from समाचार – Online Khabar https://ift.tt/tF2RPwO
0 Comments
if you have any doubts, please let us know.