शिक्षकबाटै असुरक्षित छन् बालबालिका

८ चैत, काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे ।

कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । तर ती महिला शिक्षकले छात्रालाई सहयोग गर्नुको सट्टा विद्यालयको कुरा बाहिर हल्ला नगर्न सुझाव दिएर चुप बस्न भने ।

यसअघि पनि यस्तै दुर्व्यवहार खेपिरहेका विद्यार्थीहरुले विद्यालयमा राखिएको उजुरी पेटिकामा निवेदन हाले । तर त्यो उजुरी पेटिका अझै नखोलिएको बताउँछन् ।

२९ गतेको घटनापछि कक्षा ९ देखि १२ मा पढ्ने विद्यार्थीहरुले शिक्षक लामिछानेले यौनजन्य र अमर्यादित व्यवहार गर्ने गरेको विद्यालय प्रशासनसँग विभिन्न माध्यमबाट गर्न खोजेको संवादमा विद्यालयको ध्यानाकर्षण नभएपछि २९ फागुनमा सामूहिक प्रतिकार गरेको बताउँछन् ।

प्रतिकारमा विद्यार्थीहरुले शिक्षक लामिछानेलाई मोसो दल्ने प्रयास गरेका थिए । त्यसपछि विद्यालयले सर्वदलीय बैठक बसी शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको थियो । विद्यार्थीहरुले ४ चैतमा माडीस्थित इलाका प्रहरी कार्यलयमा शिक्षक लामिछानेविरुद्ध उजुरी दिए । उजुरी परेपछि पीडित विद्यार्थी र प्रहरीसमेतलाई उजुरी फिर्ता लिन र विषयलाई जिल्ला प्रहरी कार्यलयसम्म ल्याएर जाहेरी दर्ता गर्न नदिन राजनीतिक दलका नेताहरु नै लागे । तर जाहेरी दर्ता भएपछि शिक्षक लामिछाने पक्राउ परेका छन् ।

घटना २

मोरङको लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने छात्रालाई गत शुक्रबार दुर्व्यवहार गरेको आरोप छ । शिक्षक पौडेलले बालिकाको घरमै गएर करणीको प्रयास गरेको विद्यार्थीलाई प्रधानाध्यापकलाई उजुरी गरेका थिए ।

विद्यार्थीको उजुरीपछि शिक्षक पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो । घटना भएपछि शिक्षक विद्यालयमा नै रहेको सूचना पाएका स्थानीयले विद्यालय घेराउ गरेका थिए ।

स्थानीयले शिक्षकलाई प्रहरी कहाँ लगेर जोगाउन खोजेको भन्दै आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अनियन्त्रित भएको थियो । सोही क्रममा भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो ।

शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?

शिक्षा नियमावली, २०५९ को परिच्छेद २२ ले शिक्षकले पालन गर्नुपर्ने आचार संहिताहरु उल्लेख गरेको छ । जसमा शिक्षकको भूमिका विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्ने, आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने भनिएको छ । तर ज्ञान दिने शिक्षकबाटै यौन दुर्व्यवहारका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर विद्यालयभित्रै शिक्षकबाट यस्तो अपराधिक घटना हुनु गम्भीर समस्या भएको बताउँछिन् । पछिल्ला दिनमा विद्यार्थीको साहसको कारण यस्ता घटना सार्वजनिक भइरहेकाले यसलाई सकारात्मक रुपमा लिन सकिने उनको धारणा छ ।

‘शिक्षकबाटै यो तहको आपराधिक गतिविधि हुनु अत्यन्तै निन्दाजनक कार्य हो । तर मलाई लाग्छ अहिले विद्यार्थीहरुको साहसको कारण सार्वजनिक भइरहेका छन् । पहिले अनेक कारणले हुँदैन थिए । सार्वजनिक भएका घटनाले यस्ता मानसिकता भएकाहरुलाई निरुत्साहित नै गर्छ’ उनले भनिन् ।

यस्ता घटनाले असल शिक्षकलाई झन् संवेदनशील र जिम्मेवार बनाउने उनको जिकिर छ । भन्छिन् ‘अब शिक्षक आफैं सचेत हुनु त छँदै छ विद्यार्थीहरुलाई पनि यस्ता कुनै पनि खालका दुर्व्यवहार हुन्छ भने प्रतिकार गर्न पछि नहट्न र यस्ता व्यक्तिलाई सार्वजनिक गर्न हौसला थप्नुपर्छ ।’

खराब नियत भएको व्यक्तिले शिक्षक पेशालाई बदनाम गराउने मात्रै नभएर शिक्षक र विद्यार्थीको सम्बन्धको दुरी समेत बढाउने उनको भनाइ छ ।

किन आरोपितलाई बचाउन खोजिन्छ ?

चितवन माडीका शिक्षक सुरज लामिछानेको बचाउ गर्दै नेपाल शिक्षक संघ माडी नगर समितिले भने विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष विश्वनाथ घिमिरेले शिक्षकमाथि अशोभनीय र अपाच्य व्यवहार गरिएको भन्दै भ्रत्सना गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘पेशाकर्मी माथि जंगली हर्कत पश्चात प्रशासनिक कारबाहीमा जाने गतिविधिले पेशागत सुरक्षा र व्यक्तिका शान्तिपूर्वक बाँच्न पाउने कह हनन भएको महसुस भएको छ । निज शिक्षकको पेशागत सुरक्षाको माग गर्दै शिक्षालय जस्तो संवेदनशील ठाउँमा उत्तेजना, आवेग र हठात निर्णय नगर्न अपिल गर्दछौं ।’

तर यौन दुर्व्यवहार जस्तो गम्भीर विषयमा आरोप लागेका शिक्षकको हठातमा अन्य कुनै पनि संघसंगठनले बचाउ गर्न नहुने शिक्षक महासंघका अध्यक्ष तुलाधर बताउँछिन् । उनी भन्छिन्, ‘कानुनी प्रक्रियामा गइसकेको अवस्थामा बचाउ गर्दै विज्ञप्ति निकाल्नु ठीक होइन । यो अन्त्यन्तै गम्भीर र संवेदनशील विषय हो । निष्पक्ष छानबीनको लागि भने आवाज उठाउन सकिन्छ ।’

यस्ता गम्भीर घटनामा आरोपितलाई बचाउ गर्दै संघ संगठन, समाज नै लाग्नु भनेको पितृसत्तात्मक सोचको उपज भएको अध्यक्ष तुलाधरको भनाइ छ ।

माडीको सोमेश्वर माविको घटनामा पीडितलाई कानुनी सहायता दिइरहेकी लेखक तथा अधिवक्ता सरिता तिवारी हाम्रो समाज र संस्थाहरु पितृसत्तात्मक चरित्रको भएका कारण महिलालाई नै दोषी देख्ने बताउँछिन् ।

‘हाम्रो पितृसत्ताको वैचारिकीको आधार पुरुषहरुलाई जे पनि गर्न छुट छ भन्ने हो र यसले अधिकतम पुरुषको हितरक्षाको कुरा गर्छ । पुरुषको अनुकूलताको, सहुलियतको कुरा गर्छ । त्यो अनुरुप भएन, महिलाले प्रतिवाद गरे भने महिलालाई नै लाञ्छित गर्न अघि बढ्छन् । राजनीतिक दल र शिक्षक संघले त्यही चरित्र देखाएको हो’ उनले भनिन् ।

संविधान र कानुनले महिलालाई बराबरीको हैसियत प्रदान गर्नुपर्छ भने पनि समाज त्यसप्रति प्रतिवद्ध छैन भन्ने देखाएको उनको बुझाइ छ । भन्छिन्, ‘हाम्रो सोच्ने, चिन्तन गर्ने अभ्यासचाहिं पुरानै छ भन्ने यो घटनाले पनि देखाएको छ । समाज चेतनाको रोगी भएको छ ।

बेला बेला सार्वजनिक भइरहने यस्ता यौन दुर्व्यवहार जस्तो अपराधजन्य गतिविधिमा संलग्न जोकोही व्यक्तिलाई दण्डित गर्नुपर्ने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर बताउँछन् । शिक्षक भनेको विद्यार्थीको अभिभावक हो, बाबुआमा हो, संरक्षक पनि हो । यी सबै भावनाबाट अभिप्रेरित हुनुपर्ने शिक्षकमा खराब प्रवृत्ति हुनु निन्दनीय कार्य भएकाले अपराध पुष्टि भएको अवस्थामा कडा कारबाही हुनुपर्ने उनी बताउँछन् ।

उनी भन्छन् ‘शिक्षकबाट शिक्षकले, विद्यार्थीले दुर्व्यवहार भोग्नुपरेको सार्वजनिक भइरहेको छ । यसले शिक्षकलाई पनि तालिम, परामर्शको जरुरी देखिन थालेको छ ।’



from समाचार – Online Khabar https://ift.tt/86SJAz3

Post a Comment

0 Comments