६ चैत, विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।
लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।
लेटाङ–५ का वडाध्यक्ष भुमसूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलमाथि कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको आरोप लागेको थियो ।
आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडाध्यक्ष मगरले शिक्षक पौडेललाई पक्राउ गर्नका लागि प्रहरीलाई बोलाएका थिए । तर विद्यार्थी र स्कुलमा जम्मा भएको भिडले शिक्षकलाई लैजान दिएनन् ।
वडाध्यक्ष मगरका अनुसार स्थानीयले प्रहरी कहाँ लगेर शिक्षकलाई जोगाउन खोजेको भन्दै नारावाजी गरेका थिए । दिउँसो १ बजेसम्म सामान्य रहेको स्कुल त्यसपछि तनाबग्रस्त बनेको उनले बताए । स्थिति नियन्त्रण गर्न प्रहरीले दजनौं राउण्ड अश्रू ग्याँस प्रहार गरेको थियो ।
अपडेट –
आक्रोशित भिडले शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । ‘दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सकिएन, राति प्रहरीले लिएर जाँदै थियो, बाटोमा आक्रमण भयो,’ उनले भने, ‘प्रहरीको अवस्था गम्भीर छ ।’
प्रहरी स्रोतका अनुसार एक जना महिला प्रहरीको घाँटीमा हतियार प्रहार भएको छ । स्कुलमा भिड कम भएपछि प्रहरी चौकी ल्याउने क्रममा साझा चोक नजिकै आक्रमण भएको थियो ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ । स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।
from समाचार – Online Khabar https://ift.tt/B0vlyUK
0 Comments
if you have any doubts, please let us know.