२१ मंसिर, काठमाडौं । अमेरिकाले आउँदो फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिक प्रतिनिधि नपठाउने घोषणा गरेको छ ।
सोमबार ह्वाइट हाउसले शीतकालीन बेइजिङ ओलम्पिकमा अमेरिकी प्रतिनिधि सहभागी नहुने जानकारी गराएको हो । चीनमा भइरहेको मानव अधिकार हननको विरोध गर्दै अमेरिकाले आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको ह्वाइट हाउसको भनाइ छ ।
‘चीनले सिजजियाङमा गरिरहेको नरसंहार एवं मानवताविरोधी अपराधसहित अन्य मानव अधिकार हननका कारण बाइडेन प्रशासनले शीतकालीन बेइजिङ ओलिम्पिक (२०२२) मा कुनै पनि कुटनीतिक वा आधिकारिक प्रतिनिधिमण्डल पठाउने छैन’, ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पत्रकारसँग कुरा गर्दै भनिन् ।
तर कुटनीतिक बहिष्कारले अमेरिकी खेलाडीको उपस्थितिलाई प्रभाव नपार्ने पनि साकीले प्रस्ट पारेकी छन् ।
वाशिङ्टनस्थित चिनियाँ दूताबासले शीतकालीन बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने अमेरिकी कदमको विरोध गरेको छ । अमेरिकी कदम ‘कपटपूर्ण राजनीतिक चाल’ भन्दै यसबाट ओलम्पिक प्रभावित नहुने चिनियाँ दूताबासको भनाइ छ ।
पछिल्ला केही वर्षयता अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ । ताइवान, हङकङ र उइगुर मुस्लिममाथि चीनले गरेको व्यवहारका कारण द्धपक्षीय सम्बन्ध तनावपूर्ण बनेको हो ।
तर गत महिना आयोजित भर्चुअल बैठकमा बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङ दुबैले सम्बन्ध सुधार्नु आवश्यक रहेको र मिलेर काम गर्नुपर्ने बताएका थिए ।
from समाचार – Online Khabar https://ift.tt/31yKyV4

0 Comments
if you have any doubts, please let us know.