पुरातात्विक प्रयोगशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२५ कात्तिक, काठमाडौं । पुरातात्विक सामग्रीको संरक्षण, संवर्द्धन र त्यस्ता सामग्रीको मिति तय गर्ने उद्देश्यले पुरातत्व विभाग अन्तर्गत् रहने गरी खुलेको पुरातात्विक प्रयोशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रधानमन्त्रीलाई भेटी प्रयोगशाला निष्क्रिय बन्दा नेपालको पुरातात्विक अध्ययन अनुसन्धान प्रभावित भएको भन्दै यसको पुनर्जीवनको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

केन्द्रले बुझाएको ज्ञापनमा मुलुक संघीय संरचनामा गइसक्दा पनि पुरातत्व विभाग विकेन्द्रिकृत हुन नसकेको भन्दै हरेक प्रदेशमा तत्काल अधिकारसम्पन्न पुरातत्व विभागको स्थापना गर्न पनि माग गरिएको छ ।

त्यस्तै, संघीय संरचना अनुसार अधिकारसम्पन्न स्थानीय तह रहेकोले हरेक स्थानीय तहमा एक जना पुरातत्व अधिकृतको दरबन्दी कायम गरेर स्थानीय तहबाटै पुरातात्विक महत्वको क्षेत्र संरक्षणको पहल गर्न पनि माग गरिएको केन्द्रले जनाएको छ ।

ज्ञापनपत्रमा प्राचीन स्मारकको संरक्षणको लागि नेपाल प्रहरीबाट एउटा छुट्टै सुरक्षा दस्ता गठन गरी त्यसको अधिकार बढाउन र समयानुकुल प्राचीन स्मारक संरक्षण ऐन संशोधन गरी कडाइ गर्न पनि माग गरिएको छ ।

जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृति एवं पुरातत्व क्षेत्र आफैँमा विशिष्ट र महत्वपूर्ण रहेको भन्दै यसको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । विश्वमा नेपालको छुट्टै पहिचान जनाउन संस्कृति र पुरातत्वले महत्वपूर्ण भूमिका खेलेको भन्दै यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।



from समाचार – Online Khabar https://ift.tt/3H7RcBY

Post a Comment

0 Comments