चार तलाको घरको तेस्रो तला पुग्दा ‘मलाई त घुँडा दुख्छ है’ भनिरहेका थिए, विमल निभा । सँगै सिँढी उक्लिरहेका शैलेन्द्र साकारले भने ‘सत्तरीमै घुँडा दुख्यो कविजी !’ भन्दै निभामाथि व्यंग्य गरे ।
नेपाली कविताका यी दुई ‘हेभिवेट’ कविलाई उमेरका कारण घुँडा दुख्ने समस्या छ । कविता पढ्न पावरफुल लेन्सजडित चश्मा लगाउनुपर्छ । तर यो उमेरमा पनि काव्यभार उठाउन काँध जब्बर बनाएर बसेका छन् उनीहरू ।
साकार तिनै विद्रोही कवि हुन् जो न्यूरोडमा बुटपालिस गर्न बसे । बहुदलको पक्षमा सडक कविता क्रान्तिताका हरिभक्त कटुवालहरूसँगै कुर्लिए । २०१४ मा दश वर्ष छँदा नै ‘प्रगति’मा कविता प्रकाशन गरी आफ्नो सृजनशीलता सार्वजनिक गरे ।
यता विमल निभाले जनवादी कविको रुपमा बहुदलदेखि गणतन्त्र स्थापनासम्म आफूलाई उभ्याए । विसंगत समाज र विकृत राजनीतिमाथि चोटिला व्यंग्य लेखे ।
यही महिना यी दुई कविको छुट्टाछुट्टै कवितासंग्रह प्रकाशित भएको छ । साकारको ‘अरू सात समुद्र’ तथा विमल निभाको ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ भर्खरै प्रकाशित भएको छ ।
साकार र निभाको कविता–किताब एकैचोटी आउनुको धेरै अर्थ छ । पचास वर्षदेखि सँगसँगै काव्ययात्रा तय गरेका उनीहरूबीच धेरै समानता पाइन्छ र वैषम्य पनि ।

दुवै राजधानी बाहिरबाट आएर नेपाली साहित्यमा स्थापित बनेका । साकार भोजपुर बजारबाट उच्च शिक्षाका लागि काठमाडौं झरेका, विमलचाहिँ पिताको जागिरको सिलसिलामा वीरगञ्ज, नेपालगञ्ज, विराटनगर बस्दै काठमाडौं आइपुगेका ।
****
पचास वर्ष नाघिसक्यो साकार र विमलको मित्रताले । आज पनि भेट्दा रचनामाथि हार्दिक प्रतिक्रिया दिँदै एकअर्कालाई चोटिलो व्यंग्य प्रहार गरिरहेका हुन्छन् । उनीहरूको कुरा सुन्नेलाई लाग्छ, दुई लक्काजवान ‘ननभेज’ गफमा मस्त रमाइरहेका त छैनन् !
बानेश्वरमा भेट भएका साकार र निभाको कुराकानी कविता, राजनीति र जीवनको सेरोफरोमा चलिरहेको छ । पञ्चायतकालमा प्रशासनको आँखा छलेर कविता–कर्म गरेको घटनादेखि पुराना मित्रहरूसँगका किस्सा केलाइरहेका छन् उनीहरू । बारम्बार दोहोरिरहन्छन्– भूपी शेरचन, ईश्वरवल्लभ, हरिभक्त कटुवाल, वासु शशी, सन्तोष भट्टराई, कुमुद देवकोटा, नारायण ढकाल, राजव, श्यामल ।
कुराकानी मोड्दै हामीले सोध्यौं, दुई कविको पहिलो भेटबारे ।
विमल निभा सम्झन्छन्, ‘मैले वीरगञ्जमै छँदा साकारको कविता ‘रचना’ पत्रिका पढिसकेको थिएँ । पुराना पत्रिका खोज्दा पनि धेरै ठाउँ भेटेर पढेको छु ।’
साकारको स्मृतिमा भने पहिलो भेटको स्पष्ट सम्झना छैन । ‘पारिजातको घर जाँदा विमलको नाम उठेपछि मैले पत्रिका खोजेर पढेको हुँ । पहिलो भेटदेखि कतिपटक सँगै रक्सी खाइयो, कति कार्यक्रममा सँगै गइयो कुनै लेखाजोखा छैन ।’
२००४ सालमा जन्मेका साकारभन्दा पाँच वर्ष कान्छा हुन्, विमल निभा । यद्यपि नेपाली कवितामा सँगसँगै छन् । समयको एउटै प्रवाहमा बग्दाबग्दै आज दर्जनौं युवा कविका ‘रोलमोडल’ बन्न सफल छन् उनीहरू ।
व्यक्तिगत जीवनमा निकै नजिकको सम्बन्ध रहँदारहँदै पनि वैचारिकीले उनीहरू छुट्टिएका छन् । चर्चित बुटपालिस आन्दोलनमा जुत्ता पालिस गर्न बसेका साकार, ध्रुव सापकोटा र कवितारामहरूको आन्दोलनलाई विमलले ‘समीक्षा’ साप्ताहिकमार्फत् ‘फेसन’को संज्ञा दिए ।
अनि बहुदलको पक्षमा एक महिनासम्म चलेको सडक कविता क्रान्तिमा पनि पार्टी नीतिको कारण विमलले सहभागिता जनाएनन् । अन्तिममा २०४६ को आन्दोलनमा भने एकैसाथ सडकमा भेटिए उनीहरू । जुन यात्रा अहिलेसम्म कायम छ, कहिले एमसीसीको विरोध त कहिले मानवअधिकारको पक्षमा ।
विमलको सदावहार आरोप छ, ‘साकार एउटै विचारमा अडिग छैनन् अनि राजनीतिक रुपमा ढलपल गरिरहन्छन् ।’
साकारको पनि एक लाइन स्टेटमेन्ट छ– ‘कुनै पार्टी वा विचारको जड भएर कविता किन लेख्ने विमल ! विद्रोह र विचार हाम्रै कवितामा छ भने पार्टीमा किन होमिने ?’
हो, विमल आजीवन कम्युनिष्ट रहिरहे । तत्कालीन माले र एमालेसँग निकट रहँदै पार्टीसम्बद्ध पत्रिकाहरूमा काम गरे । २०५२ मा साझा प्रकाशनको अध्यक्ष भए । साकारचाहिँ नेपाली कांग्रेससँग बढी नजिक देखिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको समीपमा रहे । २०६२ मा ज्ञानेन्द्र शाहको प्रत्यक्ष–शासन हुँदा साझा प्रकाशनको अध्यक्ष भए ।
राजाको शासनमा नियुक्ति लिएको त्यही एउटा चुकलाई लिएर कम्युनिष्ट साथीहरूले आफूमाथि सधैं छेडखानी गरिरहने साकार सुनाउँछन् । उक्त नियुक्तिलाई जीवनको ‘बिग मिस्टेक’कै रुपमा स्वीकारेका छन् उनले ।
कविता मात्र कविता
साकार र निभा यस्ता दुर्लभ लेखकमा पर्छन्, जो नेपाली साहित्यमा कविताकै कारण स्थापित छन् । ५० को दशकसम्म यी दुई कविको मोटामोटी ५० थान कवितामात्रै प्रकाशित थियो । तिनै थोरै कविताको बलले उनीहरू नेपाली साहित्यमा स्थापित बने ।
भर्खरै प्रकाशित ‘अरू सात समुद्र’ साकारको छैटौं कवितासंग्रह हो भने ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ विमलको चौथो संग्रह । यसबाहेक साकारका तीन कथासंग्रह र एक संस्मरण प्रकाशित छ । विमलको कविताबाहेक चारथान व्यंग्यसंग्रह प्रकाशित छ ।
यी दुई कवि गद्य कवितामा आकर्षित भएको घटना पनि रोचक छ । भोजपुरको विद्यालयमा हुने कविता प्रतियोगितामा भाग लिँदै साकारको कविता लेखन सुरु भयो । यता विमलले पनि आठ कक्षा पढ्दै गर्दा शिक्षकहरूको दबाबमा कविता लेखे ।
साकारको सुरुवाति कवितामा देशप्रेम, प्रकृति र मानवताका कुरा हुन्थे भने विमलका कवितामा हल्काफुल्का व्यंग्य । विमल जीवनमा पहिलोपटक लजाउँदै पढेको कविताका हरफ सम्झिन्छन्–
म हुँ एक देवकोटा
म हुँ एक देवकोटा
पानी खान्छु एक लोटा !
तर वीरगञ्जमा हाइस्कुल पढ्दै गर्दा विमलले मार्क्सवादको कुरा साथीहरूबाट सुने । रक्सौलको होटलमा बस्ने पुष्पलाललाई भेट्न पुगे । २०२५ आसपास मार्क्सवादको स्वाद पाएसँगै विमलको कविताले लेखनले ‘यू–टर्न’ लियो । उनी शोषण, उत्पीडनविरुद्ध कविता लेख्न थाले । निरंकुश सत्तामाथि चोटिलो व्यंग्यहरू लेख्न थाले ।
देशप्रेम र प्रकृतिका कविता लखेर पुरस्कार पाइरहने साकारले पनि बंगाली कवि मलयराय चौधरीको कविता पढेपछि कथ्य परिवर्तन गरे । ‘हंग्री जेनेरेसन’का कविहरू भेटेपछि साकारले पनि आगो ओकल्ने विद्रोही कविता लेख्न थाले ।
त्यो तीसको दशकको मध्यसमय थियो, साकारले ‘सर्पहरू गीत सुन्दैनन्’जस्तो शक्तिशाली कविता लेखे । विमल निभाले अँधेरोमा बाँच्न विवश मधेशको रामगढवा गाउँको कविता लेखे ।
दुवैका कविता चर्चित पत्रिकाहरू रुपरेखा, अभिव्यक्ति, रचनामार्फत् प्रकाशित हुन्थ्यो । कविताकै कारण पञ्चायत समर्थक लेखक तथा प्रशासकको आँखी हुन्थे उनीहरू ।
पवन आलोकको शब्दमा भन्दा, ‘साकार त्यस्ता प्रभावशाली नेपाली कवि हुन् जसको कविताले अन्तरराष्ट्रिय प्रतिनिधित्व गर्ने सामथ्र्य राख्छन् ।’
घुमन्ते कवि ययुत्सु आरडी शर्मा साकारलाई आधुनिक नेपाली कविताका धुरीखाँबो मान्छन् । युयुत्सुले नै साकारका कवितालाई अनुवाद गरी देश–विदेशका पत्रपत्रिकामा पठाएका छन् ।
यता विमल निभाका कविता भने हिन्दीमा बढी अनुवाद भएका छन् । कतिसम्म भने कुनै समय भारतीय युवा कविहरू विमल निभाका क्रान्तिकारी कविताको ‘फ्यान’ रहेको कुरा कवि श्यामल बारम्बार उदृत गर्छन् ।
अनि केशव सिलवालचाहिँ निभालाई सामान्य र संघर्षशील मानिसका सबैभन्दा प्रिय कवि मान्छन् । सिलवाल लेख्छन्, ‘निभालाई जनकविको परी गुथाउनु छैन । तर उनलाई नै अघि लाएर साहित्यकारहरू लोकतन्त्रको आन्दोलनको पक्षमा होमिएका हुन् । उनी निःसन्देह जनताकै कवि हुन् ।’
विमल निभाको भने सामान्य स्वीकारोक्ति छ– जसरी मजदुरहरू घन उठाउँछन्, सिपाहीहरू मोर्चामा हतियार र कृषकहरू हलो जोत्छन्, त्यसरी नै कविहरू कविता लेख्छन् ।
विनम्र तर बलिया
विमल निभा र शैलेन्द्र साकारलाई भेट्न कसैले ‘अपोइन्टमेन्ट’ लिइरहनु पर्दैन । न्यूरोड, बागबजार र बानेश्वरका सामान्य चियापसलमा हातमा किताबको झोला बोक्दै चिया खाइरहेको बेला भेट्न सक्नुहुन्छ तपाईं ।
दाग गढेको तिलचामले अनुहारमा क्याप टोपी र चस्मा लगाएर बानेश्वर वरपर हिँडिरहेको सानो कदको आकृतिले नै साकारलाई चिनिन्छ । यता फ्रेन्च कट दाह्रीमा चश्मा र ओभरकोट लगाएको सामान्य नेपालीभन्दा केही अग्लो कदको मानिस न्यूरोडको गल्लीमा चिया खाँदै मस्त ठट्टा गरेको भेटियो भने त्यो विमल निभा भनेर ठम्याउन सकिन्छ ।
कोरोनाका कारण दुवै कवि हत्तपत्त घरबाहिर निस्कँदैनन् । घरमै लेखपढ गरेर बस्ने गरेका छन् अचेल । साकार नयाँबानेश्वरस्थित घरमा कृषि विकास बैंकको पेन्सन थापेर बसिरहेका छन् भने विमल डल्लु चागलको घरमा लेखकस्व लिँदै बसेका ।
वर्षको आधा समय नेपाल, आधा समय अमेरिका रहने साकार अमेरिकामा हुने नेपाली साहित्यिक कार्यक्रंममा सक्रिय सहभागिता जनाउँछन् । विमल पनि एकपटक छोरालाई भेट्न क्यानाडा गएका थिए । विरानो लाग्यो भनेर दुई महिनामात्र बसेर फर्किए ।
नीजि जीवनको कुरा गर्दा साकारको जीवनमा डेढ दशकअघि घटेको एक घटना कहालीलाग्दो क्षण साबित भएको छ । त्यो बेला उनका छोराले आफैंलाई कन्चटमा रिभल्वरले हानेर समाप्त पारेका थिए । नातिनीहरू र परिवार भेट्न साकार र श्रीमति अमेरिका–नेपाल आउजाउ गरिरहन्छन् ।
विमल निभाका एकमात्र छोरा क्यानाडामा रहेको हुनाले बिरामी श्रीमतिको स्याहार गर्दै बसेका छन् । व्यक्तिगत जीवनमा जस्तो बज्र पर्दापनि उनीहरू रोकिएका छैनन् । बरु नयाँनयाँ कविता लेखिरहेका छन्, गोष्ठीमा कविता सुनाइरहेका छन् । नयाँ पुस्तासँग चिया खाँदै उनीहरूलाई हौस्याइरहेका भेटिन्छन् ।
‘पछिल्ला वर्षहरूमा लेखनको रफ्तार बढेको छ’ साकार सुनाउँछन्, आत्मसंस्मरण ‘भोजपुरे हुलाकीका सन्तान’ लेखेँ, खण्डकाव्य पनि लेखेँ । लकडाउनले यो मौका जुराइदियो ।’
विमल पनि अखबारी व्यंग्य लेखन बिट मारेर कवितामै केन्द्रीत भएका छन् । दुई वर्षअघि जोकरको बन्दुक प्रकाशन गरेका उनले भर्खरै प्रकाशित संग्रहमा पछिल्ला तीन वर्षमा लेखेका ७० थान कविता राखेका छन् ।
बानेश्वरको भेटमा साकार र निभाले एक अर्काको पुस्तक हस्ताक्षर गर्दै साटासाट गरे । ‘बधाई है कविजी’ भन्दै अंकमाल गरेपछि खाजा खान शंखमूलको एक रेष्टुराँमा पुगे ।
तीसको दशकमा न्यूरोडको मोतिमहल, इन्दिरा तथा बागबजारका लोकल–भट्टीमा उनीहरूको अविच्छिन्न सुरापान चल्थ्यो । ती दिनहरू खुबै मिस गर्छन् उनीहरू ।
चेनस्मोकर साकारले दुई वर्ष भयो चुरोट छाडेको । निभा पनि शाकाहारी भएका छन्, धुँवा लिँदैनन् । खुर्सानी र पान भने खान टुटाएका छैनन् ।
एकछिन अघिसम्म राजनीतिक कुरामा चर्काचर्की गरिरहेका यी कविहरूबीच खाजा मगाउँदा भने एकता देखियो–
भाइ नाइन्टी एमएल खुकुरी रम र तातो पानी ल्याइदिनू है !
हेर्नुहोस् भिडियोमा दुई कविको बातचित
(तस्वीर र भिडियो : शंकर गिरी/स्थान : नयाँबानेश्वर)
from समाचार – Online Khabar https://ift.tt/3cu7Tcz
0 Comments
if you have any doubts, please let us know.