महेन्द्र विष्टद्वारा एनटिभीको कार्यकारी अध्यक्ष पदबाट राजीनामा

२२ साउन, काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् ।

तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विहीबार राजीनामा दिएका हुन् ।

विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन् ।

दुई दशकभन्दा लामो समयदेखि मूलधारको पत्रकारिता गरेका विष्टले नेपाल पत्रकार महासंघको अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् ।



from समाचार – Online Khabar https://ift.tt/3AdKuWO

Post a Comment

0 Comments