४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।
पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना सुरु भएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले अब पार्टी कार्यालयमै बैठक राख्ने बताएका हुन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएपछि लगातार दुई वटा पदाधिकारी बैठक बालुवाटारमै बसालेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना भएका कारण बालुवाटारमा बैठक बसेको र अब त्यस्तो नहुने विश्वासको प्रधानमन्त्रीले दिलाएको कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले बताए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ,’ नेता थापाले भने, ‘यो विश्वासलाई कायम राखिदिनु होला ।’
अघिल्लो सरकारका पालामा एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री निर्वाचित भएपछि पार्टीका कार्यक्रमहरु बालुवाटारमै राखेका थिए । प्रधानमन्त्री निवासलाई पार्टी प्यालेसजस्तो बनाइएको भन्दै ओलीको आलोचना हुँदै आएको थियो ।
प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टी कार्यक्रम नगर्न नागरिक अगुवाहरुले पनि सुझाव दिएका थिए ।
from समाचार – Online Khabar https://ift.tt/3eyyqXF

0 Comments
if you have any doubts, please let us know.