यो लेख्दै गर्दा रातको ठ्याक्कै पौने दुई भएको छ । बेलुका खाना खाएलगत्तै शुरु गरेर मैले भर्खरै लोकी ‘सिरिज’को पहिलो ‘सिजन’ सक्काएको छु । यदि तपाईं मार्भलका फिल्महरु हेर्नेमा पर्नु हुन्छ भने तपाईंले बुझ्नुहुन्छ, मैले किन सिजन सकिएर सबै एपिसोड आएपछि मात्रै हेर्न थालें । र, तत्कालै सोध्न सक्नु हुन्छ, ‘सिजन सकिएको २४ घण्टाभन्दा पनि धेरै कसरी मन थामेर बस्न सकिस् ?’
मार्भलको फिल्म र सिरिजहरु यस्तै हुन्छन्, तिलस्मी, भयानक, भव्य, कौतूहलपूर्ण, रोमाञ्चक ।
भर्खरै मैले हेरिसकेको लोकीको सिजन १ को कुरा गर्छु । लोकीमा एकैपल्ट भयानक दौड, भुलभुलैया, उकुसमुकुस, कौतूहलता र युद्ध चल्छ । त्यसको रोमाञ्चकता म यहाँ शब्दमा लेख्न सक्दिनँ र लेखिहाले पनि तपाईंलाई बुझाउन सक्दिनँ । सोच्नै नसकिने एउटा ब्रह्माण्ड बनाएको हुन्छ, खलनायकले । सबै पात्रहरुले के गर्नुपर्ने हो उसले सबै थाहा पाउँछ । कुनै पनि पात्रले उसको कथा भन्दा थोरै मात्र फरक बाँच्न खोज्यो भने पात्रलाई आफूले चाहेकै ठाउँमा राखिदिएर समय नै फेरि शुरु गरिदिन्छ । त्यति हुँदाहुँदै पनि संघर्ष बढ्छ र अन्तिममा खलनायकसँग भेट हुन्छ ।
(यदि तपाईं मार्भलको फ्यान हो र लोकी सिजन १ हेर्नुभएको छैन भने यो अनुच्छेद नपढी अर्को अनुच्छेदमा जानुहोला ।)
खलनायकलाई भेटेपछि आश्चर्यजनक परिणाम निस्किन्छ । त्यो भयानक खलनायक त वास्तवमा रमाइलो मान्छे पो हुँदोरहेछ । स्याउ टोक्दै उसलाई मार्न ज्यानको बाजी लगाएर त्यहाँ आइपुगेका आफ्नै दुस्मनका लागि कपमा चिया सारेर दिन्छ । गफ पनि उस्तै रमाइलो गर्छ । विज्ञानका जटिल कुराहरुलाई पनि यति मज्जाले वर्णन गर्छ कि, मैले त उतिबेलै सोचेको थिएँ, यसले पढाएको भए मेरो एमएस्सीसम्मको पढाइ कति चाखलाग्दो र स्पष्ट हुन्थ्यो होला ।
“तिमीहरु यहाँ ‘दानव’लाई मार्न आएका हौ, होइन ? तर पत्याउ, मैले तिमीहरुलाई सुरक्षित राखेको छु । र, यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।” अनि आफूलाई मार्न कोशिश गर्दै गरेकाहरुलाई त्यसले भन्छ, “तिमीहरुले तानाशाहलाई घृणा गर्न सक्छौ तर टाढाको कुनै उ भन्दा पनि खराबले त्यो खाली ठाउँ भर्छ, जुन तिमीहरुले भइरहेको तानाशाहलाई हटाएर बनाउँछौ ।”
मलाई उसको त्यो संवाद यस्तो लाग्यो कि मानौँ, लोकीको एपिसोडमा भनेकै होइन, मलाई भन्दैछ । मानौँ, उ त्यो हो, जसलाई भर्खरै सर्वोच्चले प्रधानमन्त्रीबाट अपदस्थ गरेको छ र आफूलाई अपदस्थ गर्न हस्ताक्षर गर्ने सांसदहरुतिर, फैसला सुनाउने अदालततिर, आफ्ना विरुद्धमा आन्दोलन गर्नेहरुतिर र आफ्ना विरुद्धमा समाचार लेख्नेहरुतिर हेरेर बार्दलीबाट चिच्याउँदैछ ।
प्रष्ट भन्छु- मैले ल्यापटपको स्क्रिनमा बालकोनीबाट बसेर भाषण गर्दै गरेका केपी ओलीका ओठहरु चलेको देखेँ । शायद समाचार बनाउन छुटेको हुन सक्छ, शायद ओलीले मनमै राखेका हुन सक्छन्, तर उनले पनि भन्नै पर्ने हो, ‘मलाई हटाएर खुसी हुनु बेकार छ । म हटेको ठाउँ भर्न र तिमीहरुलाई शासन गर्न मभन्दा खराब अर्को तयार छ ।’
पदबाट हटेको झ्वाँकमा निस्किएको बर्बराहट पत्याउनु कसरी ?
तर नपत्याउनु पनि कसरी ?
ओलीपछि प्रधानमन्त्रीमा देउवा आउने बित्तिकै गच्छदार धरौटीमा रिहा भएको र आलमको गाउँमा आलमको चुरीफुरी बढ्दै गएको समाचार आँखै अगाडि आइबस्छ । त्यो संयोग मात्रै कसरी मान्नु ? अनि फेरि खलनायकको त्यो संवाद पुन: कानैमा दोहोरियो- “यदि तिमीहरुले मलाई दानव सोचिराखेका छौ भने, के भनुँ र, मेरा अरु भेरिएन्टहरुसँग भेट नहुञ्जेल पर्ख ।”
लेखेर यहाँ पुग्दासम्म घडीले रातको दुई बजाइसकेको छ । लोकी सकाएलगत्तै सुरु गरेर मैले लेख्न थालेको हुँ । यदि तपाईं नेपाली राजनीतिक खेलहरु नियाल्नेमा पर्नुहुन्छ भने तपाईंले बुझ्नुहुन्छ, मैले कसरी एकै ‘खलनायक’का भेरिएन्टमा ओली र देउवालाई देख्न सक्छु । र, तत्कालै सोध्न सक्नुहुन्छ, ‘भिन्न भेरिएन्टमा तिनै स्वभाव दोहोरिरहने चैं कसरी हुन्छ ? यो बन्द कसरी हुन्छ ?’
नेपाली राजनीतिक खेलहरु यस्तै हुन्छन्, भयानक, लाजहीन, निकासहीन, सस्ता, रोमाञ्चक ।
देउवाप्रतिको (अ)विश्वास
नेता बन्ने जनताको विश्वासले हो । एकछिन जनतालाई छोड्ने हो भने पनि नेता बन्न कार्यकर्ताको विश्वास पहिलो शर्त हुन्छ तर सामाजिक सञ्जाल चहार्दै गर्दा प्रष्ट देखिन्छ, देउवाप्रति उनका कार्यकर्ता स्वयम् विश्वस्त छैनन् । कार्यकर्ताकै अनुमानमा पनि देउवा माइन बिछ्याएको मैदानमा हिंडिरहेका सिपाही हुन्, जसले अकारण नै जानीजानी खुट्टा कुनै पनि बेला माइनमा पारिदिन सक्छन् र विस्फोट गराइदिन सक्छन् । यो उनको चारित्रिक विशेषता हो ।
यो अविश्वासको आर्जनका लागि देउवाले विगतमा धेरै कष्ट सहेका छन् । माओवादी विद्रोहको जग बसाल्ने भागीदारी पनि उनकै भागमा पर्छ । सांसद किनबेच, सांसदलाई प्राडो पजेरो सुविधाको सुरुवात उनकै मगजको उपज हो । संसद विघटन गरेर जनमतको धुस्ने उडाउने अभ्यास उनले गरिसकेका छन् । प्रजातन्त्रलाई किस्तीमा राखेर दरबार बुझाउँदै गर्दा किस्ती देउवाकै हातमा थियो र घुँडा टेकेर उनी दरबार अगाडि थिए ।
देउवाको विगतका पराक्रमले नै हो, फरार गच्छदार जमानतमा रिहा हुन अदालत पुग्ने सामर्थ्य राख्ने । देउवाकै विगतको संघर्षको तेजले नै हो, जिउँदै मान्छेहरुलाई इँटाभट्टामा पोलेको आरोप लागेका आलमहरु सग्बगाउने ऊर्जा पाउने । उपन्यास ‘द अलकेमिस्ट’मा एउटा पात्रले भन्छ- “जुन कुरा एक पल्ट हुन्छ, त्यो दोस्रो पल्ट नहुन सक्छ । तर जुन कुरा दोस्रो पल्ट पनि हुन्छ, त्यो तेस्रो पल्ट हुन्छ हुन्छ ।”
हामी उपन्यासको त्यो पात्र जस्तो अन्धविश्वासी त नहौँला तर धेरैलाई देउवाबाट अकारण पनि हुनसक्ने अविश्वासिलो गडबडीप्रति धेरै हदसम्म विश्वास छ । उनीबाट पुरानै राजनीतिक कुसंस्कारको नियमितता हुनेमा प्राय: निश्चित नै छौँ ।
के हामीलाई ओलीको भार बिसाउँदै गर्दा यो सबै थाहा थिएन र ? पक्कै पनि थाहा थियो ।
त्यसो भए किन देउवा नै त ? किनकि, हामी एउटा वृत्तमा घुमिरहेका छौँ । देउवा नभए प्रचण्ड हुन सक्थे । देउवा प्रधानमन्त्री भइसकेकाले प्रचण्ड हाम्रो विश्वासको राडारबाट अलिपर पुगेका मात्रै हुन् । नत्र प्रचण्ड प्रति देउवा झैँ विश्वास गर्नुपर्ने पनि झन्डै उति नै कारण छन् ।
बितेका केही महीना मात्रै हेर्ने हो भने पनि देखिन्छ, नेपाली राजनीति रस्साकस्सीपूर्ण रह्यो । भनाभन, पक्ष विपक्ष र तर्कको माहौल बन्यो । कसैले थोरै समय बोल्न पाए, कसैले धेरै समय बोले । कसैले बोल्दा ताली पाए, कसैले गाली पाए । कसैले बोलिमात्रै रहे, कसैले वास्ता गरेन । अन्त्यमा जब सर्वोच्च बोल्यो, तब ओली बालुवाटरबाट फ्यालिएर बालकोटको बार्दलीबाट बोल्न पर्यो र देउवाले बूढानीलकण्ठ छोडेर बालुवाटारबाट बोल्न पाउने अवसर पाए ।
तर श्रृङ्खला सकिएको छैन
खेलको श्रृङ्खला निक्कै लामो समयदेखि चलिरहेको छ । चक्रवत् रुपमा । हामी परिधिको कुनै बिन्दुमा उभिएका छौँ र त्यहाँबाट जो निकट आउँछ, त्यसलाई बढी देख्छौँ अनि त्यसकै आधारमा आफ्ना दृष्टिकोणहरु तय गर्छौँ तर पात्रहरु उनै घुमिरहेछन् । जबसम्म तपाईंले यो पूर्णचक्र देख्नुहुन्न र यो चक्रमा विश्वास गर्नुहुन्न, तबसम्म तपाईंले राजनीति चक्रको परिधिको एउटा विन्दुमा अडिएको थाहै पाउनु हुन्न ।
संसदमा देखिएको राष्ट्रवाद, सहमति र धोका सबै क्षणिक मात्रै हुन् । दुइटा पार्टीहरु एकता गरेर हवाईजहाज बनाइयो भन्दै आफैंलाई पाइलट घोषणा गरेकाहरु पार्टी फुटाएर लाखापाखा लागेका छन् तर त्यसपछि एक भएकाहरुको अनुहार नियाल्दा देखिन्छ, कुनै बेलाका यी यति विपरीत थिए कि एकअर्काको टाउकोको मोलसम्म तोक्ने गर्थे । आगतमा कुनै सत्ताको हिसाबमा यो गठबन्धन टुटेर फेरि भर्खरै टुटेको गठबन्धन जागृत हुँदैन भन्न सक्ने आधार तिल जति पनि छैन ।
प्रचण्ड भनिरहन्छन्- “राजनीति सम्भावनाको खेल हो ।” देउवाको नजरमा राजनीतिमा स्थायी मित्र र शत्रु कहिल्यै हुँदैन । ओलीलाई फेरि पचास वर्ष नेपालमा कम्युनिष्टको शासन गर्न दुईतिहाइ चाहिन सक्छ । स्वभावत: यो चक्रमा पात्रहरु कहिले कुन दिशामा र कहिले कुन दिशामा परिरहन्छन् । एकले अर्काको लागि आफू हटेर, गिरेर र सिद्धिए झैँ गरेर अर्कोको लागि स्थान बनाइदिरहन्छन् । यसैले त बालकोट पुगेका ओली आफ्नै बार्दलीबाट तेस्रो पल्ट बालुवाटार पुग्ने पृष्ठभूमि बनाउन थाल्छन् ।
सधैं यस्तै नै हो त ?
स्थायी त केही पनि छैन । सधैं यस्तै भइरहन नसक्ला । तर सधैं यस्तै भइरहन नसक्ने आधार कम्तीमा अहिले देखिएको छैन । हाम्रो मिश्रित निर्वाचन प्रणालीले सधैं यस्तै खेल भइरहन सक्ने मैदान बनाइदिएको छ । यसपल्ट देउवाले विश्वासको मत पाएर अलिपछि चुनाव भए पनि वा देउवाले विश्वासको मत नपाएर तत्कालै चुनाव हुने भए पनि कथानकमा फरक पर्दैन ।
तर, यदि यस्तै भइरहन रोक्ने कोशिश गर्ने हो भने, मिश्रित निर्वाचन प्रणालीबाट समानुपातिक व्यवस्था हटाउनुपर्छ । समानुपातिक जस्तो विशेष समतामूलक साधन कायम राख्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्छ ।
यहाँ पुगिसक्दा रातको ठ्याक्कै तीन बजेको छ । बेलुका खाना खाए हेर्न थालेको लोकीको सिजन १ सकाएर थालेको लेखको उत्तरार्ध पुगेको छु । यदि तपाईंले पूरा लेख पढेर यहाँसम्म आइपुग्नुभयो भने तपाईंले बुझ्नुहुन्छ, मैले किन निर्वाचन प्रणाली परिवर्तनका कुरा गरेँ । र, तत्कालै सोध्न सक्नुहुन्छ, ‘अब फेरि अर्को राजनीतिक परिवर्तन ? वाक्क भएन ?’
लोकतन्त्र यस्तै हुन्छ, जोखिमपूर्ण, संवेदनशील, ध्यान खोज्ने (एटेन्सन सिकर), मर्मतसम्भार गरिराख्नु पर्ने ।
लोकतन्त्र यस्तै हुन्छ- मर्मतसम्भार गरिराख्नुपर्ने …
from समाचार – Online Khabar https://ift.tt/3kvxo2C

0 Comments
if you have any doubts, please let us know.