२७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् ।
बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएर पुँजी बजार क्षेत्रको नियामक निकाय बोर्डको नेतृत्व गर्ने जिम्मेबारी पाएका ढुंगानामा सुरुमा बैंकलाई लाइसेन्स दिन सहमत थिएनन् ।
तर लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको र ब्रोकर कम्पनीहरु धेरै हुँदा प्रतिस्पर्धा बढ्नुका साथै पुँजी बजारको विकास र विस्तार हुने भन्दै बोर्ड अध्यक्षले लाइसेन्स दिने तयारी गरेका हुन् । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ग्रामीण भेगसम्मका सर्वसाधारणले सहज तरिकाले दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने बोर्डको अपेक्षा छ ।
अध्यक्ष ढुंगानाले पब्लिक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने तयारी गरेका छन् । बैंकका सहायक कम्पनी र पब्लिक कम्पनीहरुबाट अवोदन माग गर्ने बोर्डको तयारी छ । प्राप्त आवेदन मध्येहरुबाट अध्ययन गरेर केहीलाई लाइसेन्स दिनेगरी बोर्डले गृहकार्य सुरुसमेत गरेको छ ।
उता विकास बैंकहरुले पनि वाणिज्य बैंकलाई जस्तै आफूहरुलाई पनि ब्रोकर लाइसेन्स दिन माग गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले आगामी आर्थिक वर्षको मौदि्रक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा समेत ब्रोकर लाइसेन्स दिनुपर्ने उल्लेख गरेको बताए । विकास बैंकहरुलाई भने अहिले नै ब्रोकर लाइसेन्स दिने विषयमा बोर्डले तयारी सुरु गरेको छैन ।
‘अहिले वाणिज्य बैंकका सहायक कम्पनी र केही पब्लिक कम्पनीसमेत गरेर ५० वटा हाराहारीमा लाइसेन्स दिनुपर्छ कि भन्ने सोचिएको हो’ बोर्डका एक उच्च अधिकारीले भने, ‘विकास बैंकहरुलाई दिने विषयमा भने अहिले केही कुरा भएको छैन, अध्ययन भने गरिरहेका छौं ।’
from समाचार – Online Khabar https://ift.tt/3hspzZv
0 Comments
if you have any doubts, please let us know.