धनगढीमा निःशुल्क ‘महाप्रस्थान यान’ सञ्‍चालनमा

२५ असार, धनगढी । धनगढीका व्यवसायी गोपाल हमालले निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याएका छन् ।

सुन्दर सुदूरपश्चिमका अभियन्तासमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हमालले धनगढी उपमहानगरपालिकाबासीका लागि निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा ल्याएका हुन् ।

३० लाखको लागतमा हमालको परिवारले सञ्चालनमा ल्याएको ‘महाप्रस्थान यान’ पार्थिव शरीर (शव) बोक्ने प्रयोजनका लागि नगरबासीले निःशुल्क प्रयोग गर्न पाउनेछन् । हमाल परिवारले उक्त यान सञ्चालनको जिम्मा सामाजिक कार्यमा सक्रिय धनगढीकै सिद्धराज पनेरुलाई दिएका छन् ।

शुक्रबार औपचारिक कार्यक्रमकाबीच महाप्रस्थान यानको चाबी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्राध्यापक डा.हेमराज पन्तले पनेरुलाई हस्तान्तरण गरेका छन् ।

व्यवसायी हमालले धनगढीमा मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पुर्‍याउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर आफ्नो परिवारले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको बताए ।

‘धनगढीमा शव यात्राका लागि गाडी दिन नमान्ने समस्या मैले देखे, हमालले भने, परिवारको सदस्य गुमाउँदा परिवार नै शोकमा डुबेको अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुने समस्यालाई ध्यानमा राखेर महाप्रस्थान यान नाम दिएर निःशुल्क वाहन सञ्चालन गरेका हौँ ।’

यानमा पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान व्यवस्था गरिएको छ । यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ । यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिन्छ ।

उक्त यान धनगढी उप–महानगरपालिकाको मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने हमाल परिवारले जनाएको छ ।

यानको चाबी हस्तान्तरण गर्दै प्राध्यापक डा.पन्तले सम्मानजनक मानिसको अन्तिम संस्कारका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर समाजका लागि महत्वपूर्ण काम गरेको बताए।

कसरी जन्मियो महाप्रस्थान यानको परिकल्पना ?

गत पुष ३ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका पुष्करदत्त भट्टका ७८ वर्षीय बुवा महेश्वरदत्त भट्टको निधन भएको थियो ।

हसनपुरबाट गौरीगंगा नगरपालिकामा रहेको शिवगंगा नदीको आर्यघाटमा अन्तिम संस्कारको लागि भट्टको पार्थिव शरीर लगियो ।

मृतक भट्टको शव यात्रामा व्यवसायी हमालको पनि सहभागि थिए । तर उपयुक्त गाडी नहुँदा धेरै पटक भट्टको पार्थिव शरीर गाडीबाट झर्ला जस्तो हुन्थ्यो भने फेरी आफन्तले गाडी रोक्दै पुनः राख्थे । त्यो कारुणिक दृष्यले हमाललाई मर्माहत बनायो ।

गत पुष २३ गते नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकका बुवा बुद्धिराज पाठकको निधन भयो । पाठकको अन्तिम संस्कार धनगढीस्थित मोहना आर्यघाटमा गरिएको थियो ।

उचित सवारीसाधनको अभावमा पाठकको पनि भट्टको जस्तै सास्तीयुक्त शव यात्रा थियो । उनको पार्थिव शरीर पनि घरीघरी खस्ने जस्तो हुन्थ्यो । यी दुईवटा घटनाबाटै प्रभावित भएर हमालले शोकाकुल परिवारजनले आफन्तको अन्तिम संस्कारको क्रममा सास्ती भोग्न नपरोस भनेर महाप्रस्थान यान सञ्चालनमा ल्याइएको हमाल बताउँछन् ।



from समाचार – Online Khabar https://ift.tt/3k0sZnS

Post a Comment

0 Comments