गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

२६ जेठ, पोखरा । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका नेताले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट गरेका छन् ।

यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दावी पेश गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्तिको आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुखलाई भेटेर फेरि पनि फर्जी विज्ञप्ति आउन सक्ने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेताको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका थिए ।

तर जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफूहरु तटस्थ रहेको उल्लेख गरेपछि प्रदेश प्रमुख पौडेलले ठूलो दलको नेताको हैसियतमा गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।



from समाचार – Online Khabar https://ift.tt/3zdzF7u

Post a Comment

0 Comments