स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी छिन्।

राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन्।

यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र निजी क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो।

यसैबीच बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए। टेलिफोन कुराकानीमा दुई देशबीचको हित र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट  नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको छ।



from समाचार – Online Khabar https://ift.tt/3yA3uPo

Post a Comment

0 Comments